एभरेष्ट स्कूलको हेड ब्वाय र हेड गर्लमा ईशल र श्रीज्योनी विजयी

विराटनगर, १३ जेठ । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कूलको हेड ब्वाय र हेड गर्लमा क्रमशः ईशल भट्टराई र श्रीज्वनी बानियाँ विजयी भएका छन् ।

आज स्कलमा भएको निर्वाचनको मतपरिणाम अनुसार ईशल ९२८मत प्राप्त गर्दै हेड ब्वायमा निर्वाचित भएका हुन भने श्रीज्योनी ५२५ मतका साथ विजयी भएका हुन् ।

स्थानीय तहको निर्वाचन भर्खरै सम्पन्न भएर जनप्रतिनिधिहरु निर्वाचित भइसकेको अवस्थामा एभरेष्ट स्कूलले पनि निर्वाचनको झल्को दिने गरि मतदान प्रक्रियाबाटै नेतृत्व चयन गरेको हो ।

एक वर्षे कार्यकालको लागि आफ्नो नेता चयन गर्न कक्षा ३ देखि कक्षा १० सम्मका १५६० विद्यार्थीमध्ये १४३५ जनाले मतदान गरेका थिए । २ पद ‘हेड ब्वाय’ र ‘हेड गर्ल’ का लागि ९ जना उम्मेदवार प्रतिष्पर्धिका थिए ।

हेड ब्वायका उम्मेदवारहरू ओजस्वी कर्णले १५१ मत, कौशलकुमार जयसवाल ६१ मत र निखिल दासले १९४ मत ल्याउँदै पराजित भए । त्यस्तै हेर्ड गर्लको लागि प्रतिष्पर्धीहरू रिसिका आचार्य ३३६ मत, कृष्टिना श्रेष्ठ १६३ मत , ऐश्वर्या थापा १७६ मत र अंकिता गेलाल ९४ मतका ल्याए ।

एक वर्षसम्म विद्यालयका सम्पूर्ण विद्यार्थीको प्रतिनिधित्व गर्दै उनीहरुको हकहितमा विद्यालय प्रशासनसँग जोडिएर भूमिका निर्वाह गर्ने हेड गर्ल र हेड व्वाय चयनका लागि लोकतान्त्रिक विधि अपनाउँदै गोप्य मतदानबाट नेतृत्व चयनको अभ्यास विद्यालयले हरेक वर्ष गराउँदै आएको छ ।

कक्षा ३ देखि १० सम्मका विद्यार्थीले मतदानमा सहभागिता जनाएको निर्वाचन मुख्य अधिकृतको भूमिका निर्वाह गरेका विद्यालयका माध्यामिक तह इन्चार्ज भोजकुमार श्रेष्ठले बताए । उनका अनुसार विहान १०ः ४० बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चलेको थियो । लगत्तै मतगणना गरि नतिजा सार्वजनिक गरिएको हो । जेठ १० गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई मनोनयन फिर्ताको लागि ११ गतेसम्मको समय तोकिएको थियो ।

उम्मेदवारको अन्तिम नामावली सोहिदिन प्रकाशन गरेको निर्वाचन समितिले जेठ १२ गते दिउँसो ३: ३०बजेसम्म प्रचार प्रसारको लागि समय निर्धारण गरेको थियो । त्यसपछि मौन अवधि सकेर विद्यार्थीहरु आज मतदानमा सहभागी भएका हुन् ।

बालिगले आफ्नो नेतृत्व चयन गर्दा अपनाउने सम्पूर्ण निर्वाचनको बिधि अपनाएर गरिएको मतदान प्रकृयाले विद्यार्थीहरुमा नेतृत्व विकास र मतदान प्रकृयाका बिषयमा पूर्ण जानकार बनाउने विद्यालयका प्रिन्सीपल टिकाराम पुरीको विश्वास छ ।

उनले भने,‘नेपाल जस्तो लोकतान्त्रिक मुलुकमा लोकतन्त्रको अभ्यास गर्नै पर्ने आवश्यक छ । त्यसका लागि पनि तल्लो कक्षादेखि नै सामाजिक शिक्षा अन्तर्गत निर्वाचन शिक्षा अध्ययन गराउनुपर्ने हुन्छ । त्यस अन्तर्गत निर्वाचन सम्बन्धि व्यवस्था पनि छ । त्यसकारणले निर्वाचन कसरी गर्ने भन्ने सवालमा प्रयोगात्मक रुपमा सिकाउन यो विधि अपनाइएको हो ।’

प्रिन्सिपल पुरीले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा देखिएको बदर मतको संख्या हेर्दा निर्वाचन शिक्षा अत्यन्तै कमजोर रहेको देखिने भन्दै विद्यालयस्तरबाटै यस्तो ज्ञान दिए पछि मतदाता शिक्षामा पनि सघाउ पुग्ने विश्वास ब्यक्त गरे ।