माघ ११ देखि विराट एक्स्पो

विराटनगर २२ पुस । उद्योग संगठन मोरङले आगामी माघ ११ देखि विराट एक्स्पो २०२५ आयोजना गर्ने भएको छ ।

आयोजक उद्योग संगठन मोरङले आज एक्स्पो स्थल विराटनगर १४ स्थित डिग्री क्याम्पसको खेल मैदानमा पत्रकार सम्मेलन गर्दै माघ ११ देखि २० गते सम्म विराट एक्स्पो हुने जानकारी दिएको हो । एक्स्पोमा ९ पेभिलियन रहने छ । जसमध्ये बिराट बजार बिटुबि (१२ वटा स्टल), स्टार्टअप भिजन कोशी ह्याकाथुन (१२ वटा स्टल), रोजगार कोशी (१२ वटा स्टल), व्यावसायीक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधि (४० बटा स्टल), अटोमोवाइल्स (२० वटा स्टल), औद्योगिक (७५ वटा स्टल), औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन तथा एसएमईज (७५ वटा स्टल), खाद्य (१० वटा स्टल) र प्रायोजकका (१२ वटा स्टल) रहने उद्योग संगठन मोरङका उपाध्यक्ष तथा एक्स्पोका संयोजक भोलेश्वर दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि, उद्योग तथा पर्यटन लगायतका आर्थिक एवं औद्योगिक कृयाकलापहरुमा डिजिटल प्रविधिको प्रयोग र प्रविधिमा आधारित नविनतम ज्ञान एवं लगानीलाई समन्वयात्मकरुपमा प्रोत्साहन गर्न यसपटक डिजिटल कोशी ब्रिजिङ इनोभेशन एण्ड इन्भेष्टमेन्ट थिम चयन गरिएको छ ।

एक्स्पोमा उद्योगी व्यवसायीले आफ्नो उद्योग, औद्योगिक प्रतिष्ठानहरुको गुणस्तर मापदण्ड प्रणाली अनुसार कस्तो अवस्थामा छ, अनुपालना गर्नु पर्ने प्रावधानहरुको पालना भएको छ छैन लगायत समग्र आफ्नो उद्योगको अवस्था एवं क्षमताका बारेमा स्वः गुणस्तरिय व्यवस्थापन प्रणालीको परिक्षण गर्न सक्ने बताइएको छ । यसपटकको एक्स्पोमा विजनेश क्लिनिकलाई भर्चुअल प्लेटफर्मका रुपमा विकास गरि अवलोकनकर्ता उद्योगी व्यवसायीहरुको उद्योग विशेषका समस्याहरुलाई दर्ता गराउने व्यवस्था मिलाइएको संयोजक दुलालले जानकारी दिनुभयो । एक्स्पोमा रोजगार कोशी पेभिलियन अन्तरगत युवाहरुलाई करिअर काउन्सेलिङ गर्दै हस्पीटालिटी, आईटि र इलेक्ट्रिकलका क्षेत्रमा एक्स्पो अवधीमा १ हजार ८०० जनालाई प्रत्यक्ष तालिम दिने, प्रमाण पत्र दिने, करियरको मार्गवृत्तीको अवस्था देखाउने, उपलब्ध रोजगारीका अवसरमा सम्पर्क स्थापित गर्ने कार्यक्रम रहेको छ ।

एक्स्पो अवधीभर विविध विषयमा थिमेटिक शेशनहरुको आयोजना गरिने भएको छ । उद्यमशिलता विकासको सन्दर्भमा नीतिगत, कानुनी, प्रकृयागत बिषयहरुमा संघिय सरकार, प्रदेश सरकार, स्थानीय सरकारका साथै विषयगत विज्ञहरु र वहुपक्षिय सरोकारवालाहरुको सहभागितामा गहन छलफल तथा बहस गर्ने गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । आठ दिन ईन्टरप्राईजिङ ईष्ट, डिजीटल कोशी अन्तर्गत ए.आई प्रविधिको विकास र यसको वढदो उपयोगिता, वहुपक्षिय व्यापारको सम्भावना, टिभेट ईकोसिस्टमको सुदृढिकरण, स्टार्टअप, कोशी प्रदेशको औद्योगिकीकरणमा गुणस्तरीय उर्जाको उपलब्धतता विषयक थिमेटिक सेसन सञ्चालन गरिने दुलालले बताउनुभयो ।

एक्स्पोलाई भब्य बनाउनका लागि संगठनको सम्पूर्ण टिम यद्धस्तरमा परिचालित भएको उद्योग संगठनका अध्यक्ष राकेश सुरानाले जानकारी दिनुभयो । संगठनले सबैभन्दा पहिला एक्स्पोको आयोजना २०५३ सालमा कोशी महोत्सबको नामबाट गरेको थियो । विराट एक्स्पोको आठौं संस्करणसम्म आईपुग्दा यो एक्स्पो नेपालमा आयोजना हुने अन्तरािष्ट्रय स्तरको थोरै औद्योगिक एक्स्पो मध्ये आफ्नै छुट्टै पहिचान र ब्राण्डको रुपमा स्थापित हुन सफल भएको आयोजकको दावी छ ।

यसअघि सातौँ संस्करणको विराट एक्स्पोमा कृषि तथा औद्योगिक प्रदर्शनी र साँस्कृतिक कार्यक्रमसँगसँगै आर्थिक एवम् औद्योगिक क्षेत्रका बिषयगत मुद्दाहरुमा केन्द्रित दैनिकरुपमा फरक फरक बिषयमा शेमिनारहरु आयोजना गरिएको थियो ।