विराटनगर २१ पुस । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरू मजबुत भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएको बताउनु भएको छ ।
आजदेखि च्यासलमा सुरु भएको एमाले केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरू निर्दयी र अमानवीय रूपमा एमालेविरुद्ध झूटा प्रचारमा लागेको टिप्पणी गर्नु भएको हो । उहाँले एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरु लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झूटा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रह गर्नुभयो । ‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो ।
विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ । हाम्रा सबै सङ्गठनहरू उत्साहित भएर व्यक्ति व्यक्ति र घरघरमा पुग्नुपर्छ । वैचारिक कामलाई उत्तिकै महत्त्व दिनुपर्छ,ु अध्यक्ष ओलीले भन्नुभयो, ‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई बलियो बनाउँदैन । बहकावमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ ।’