विराटनगर २१ पुस । विराटनगर महानगरपालिका नगरसभाको पन्ध्रौं अधिवेशन सम्पन्न भएको छ । महानगरले चालु आर्थिक वर्षका लागि तय गरेको बजेट यथावत राखेर नगरसभाको पन्धौं अधिवेशन सम्पन्न भएको हो । अघिल्लो अधिवेशनले बजेट संशोधन गरेको थियो ।
तर यस अधिवेशनले चालु आवको नीति तथा कार्यक्रममा परेका योजना र कार्यक्रमको शीर्षक मात्रै परिवर्तन गरेको छ । मेयर नागेश कोइरालाको अध्यक्षतामा भएको नगरसभा अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि संशोधित आय–व्यय प्रस्तुत गर्नुभयो । उपप्रमुख कार्कीले चालु आर्थिक वर्षको पुस १५ गतेसम्म १ अर्ब २२ करोड ४८ लाख ३ हजार रुपैयाँ अर्थात् ३५ प्रतिशत मात्रै यथार्थ आय भएको बताउनुभयो । चालु आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार आय अनुमान गरिएको थियो । त्यस्तै ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार कुल व्यय अनुमान गरिएकोमा पुस १५ गतेसम्म ६९ करोड ५४ लाख ३८ हजार रुपैयाँ अर्थात् १९ दशमलव ८७ प्रतिशत मात्रै खर्च भएको छ ।
उक्त खर्चमध्ये १४ करोड ४० लाख ६३ हजार पुँजीगत र ५५ करोड १३ लाख ७५ हजार रुपैयाँ प्रशासनिक एवं चालुतर्फ खर्च भएको उपप्रमुख कार्कीले प्रस्तुत गरेको संशोधित आयव्ययमा उल्लेख छ । त्यसैगरी १ अर्ब १० करोड ७९ लाख १० हजार रुपैयाँ आन्तरिक आय अनुमान गरिएकोमा चालु आर्थिक वर्षको साउनदेखि पुस १५ गतेसम्म २३ करोड ३५ लाख ९७ हजार रुपैयाँ अर्थात् २१ दशमलव ०८ प्रतिशत मात्रै संकलन भएको छ । त्यस्तै राजस्व बाँडफाँडबाट प्राप्त राजस्वतर्फ प्रदेश सरकार सवारी साधन कर, घरजग्गा रजिष्ट्रेसन दस्तुर, मूल्य अभिवृद्धि कर तथा अन्तशुल्क गरी कुल ८३ करोड ५४ लाख ७४ हजार अनुमान गरिएकोमा १६ करोड ३४ लाख ७६ हजार रुपैयाँ अर्थात् १९ दशमलव ५६ प्रतिशत मात्रै रकम प्राप्त भएको उपमेयर कार्कीले पन्धौं नगरसभामा संशोधित बजेट तथा कार्यक्रममा उल्लेख छ । अन्तरसरकारी वित्तीय हस्तान्तरण संघीय सरकारतर्फ १ अर्ब २२ करोड १० लाख ७५ हजार अनुमान गरिएकोमा ६७ करोड ९२ लाख ७२ हजार रुपैयाँ अर्थात् ५५ दशमलव ६२ प्रतिशत अनुदान प्राप्त भएको छ ।
प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ करोड ५७ लाख १६ हजार प्राप्त भएको छ । प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ ८ करोड ३९ लाख ७२ हजार प्राप्त हुने अनुमान गरिएको छ । अधिवेशनलाई सम्बोधन गर्दै नगरप्रमुख नागेश कोइरालाले सीमित स्रोत र साधनबाट विराटनगरवासीको असीमित आवश्यकता परिपूर्ति गर्नु निकै चुनौती देखिएको बताउनुभयो । सीमित स्रोत र साधनको अधिकतम प्रयोग गर्दै भौतिक संरचनाको विकाससँगै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा परिणाममुखी काम गर्न सफल भएको मेयर कोइरालाको भनाइ थियो । बहुवर्षीय योजनाअन्तर्गत निर्माणाधीन विराट राजाको दरबार, रानीपोखरी, मण्ठापोखरी, पूर्वप्रधानमन्त्री पार्क, सन्ध्याकालीन आरतीस्थल, बाल उद्यन, महानगरको बहुप्राविधिक शिक्षालयको भवन, महानगरको प्रशासनिक भवनसहितका ठूला परियोजनाहरू चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।
बितेको अढाइ वर्षमा करिब ३१ किलोमिटर कालोपत्रे र ४८ किलोमिटर नयाँ सडकमा ग्राभेल, ४६ किलोमिटर नाला, १७८ वटा कल्भर्ट, ९२ किलोमिटर आरसीसी सडक ढलान र ७५ किलोमिटर रिटेरिङ वाल निर्माण सम्पन्न गरेको मेयर कोइरालाले बताउनुभयो । उहाँका अनुसार बहुवर्षीय योजना अन्तर्गत ५ करोड ३८ लाख रुपैयाँको लागतमा वीएफएम अगाडिको सडक हालै मात्र कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । राजवंशीचोक पश्चिम पुल्चोकदेखि करिब साढे ५ किलोमिटर नहरको बाटोलाई ३ करोड ८२ लाख रुपैयाँको लागतमा कालोपत्रे गर्नका लागि काम सुरु भइसकेको उहाँले बताउनुभयो । अधिवेशनमा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले प्रस्तुत गरेको एकल महिला सुरक्षा कोष (सञ्चालन) विधेयक २०८१ पारित भएको छ ।
अधिवेशनमा न्यायिक समितिको प्रतिवेदन सदस्य तीर्थेन्द्र नेउपाने, अर्थ तथा सार्वजनिक लेखा समितिको प्रतिवेदन संयोजक बलराम कारन्जित, विधेयक समितिको प्रतिवेदन संयोजक दीपककुमार कर्ण, आर्थिक विकास समितिको प्रतिवेदन संयोजक श्याम घिमिरे, सामाजिक विकास समितिको प्रतिवेदन संयोजक काजीबहादुर बस्नेत, पूर्वाधार विकास समितिको प्रतिवेदन संयोजक कुमार पोखरेल, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको प्रतिवेदन संयोजक वासुबहादुर बस्नेत र सुशासन तथा संस्थागत विकास समितिको प्रतिवेदन संयोजक सूर्यलाल यादवले प्रस्तुत गर्नुभयो ।