विराटनगर, २० पुस । खाद्य स्वच्छता र गुणस्तरका लागि स्वयं उपभोक्ताहरु पनि सजग र सचेत हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
खाद्य दाना सम्बन्धि नयाँ ऐन नियम मापदण्ड बारे जानकारी दिन शुक्रबार आयोजित अन्तक्रिर्या कार्यक्रममा सरोकारवालाहरुले उपभोक्ताहरु सचेत हुन सके व्यापारीले बजारमा खाद्य गुणस्तरहिन वस्तु बेच्नै नसक्ने धारणा व्यक्त गरेका थिए । उनीहरुले खाद्य स्वच्छताका लागि सम्बन्धित उद्योगले पनि खाद्य निरीक्षक राख्नुपर्ने र उद्योगको ल्याबलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले प्रमाणिकरण गर्ने प्रावधान राख्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले आयोजना गरेको सो अन्तक्रिर्या कार्यक्रम उद्योगका प्रतिनिधि, उपभोक्तावादी संघ संगठनका पदाधिकारी, विभिन्न कार्यालयका प्रतिनिधिहरुलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ का प्रावधानहरु बारे जानकारी गराइएको थियो । सो कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख विजय खनालले पुरानो ऐन भन्दा नयाँ ऐन परिष्कृत र परिमार्जित रहेको र उपभोक्ता देखि उत्पादकहरुको हकहित प्रति संवेदनशिल रहेको जानकारी दिए ।
नयाँ ऐनमा खाद्य वस्तु उत्पादन गर्दा अनिवार्य खाद्य उद्योग अनुमति पत्र लिनुपर्ने र नविकरण गराउने समय भन्दा ३५ दिन अगावै नविकरणका लागि निवेदन दिनुपर्ने प्रावधान राखिएको छ । यसैगरी सबै कसुरमा अदालत नै जानुपर्ने बाध्यता हटाएर केही कसुरहरु प्रमुख जिल्ला अधिकारी समक्ष जाने नियम राखेकोले तत्काल उजुरी समाधान हुने बनाइएको छ ।