कोशी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा निःशुल्क उपचार पाउने बिरामीको विवरण माग

विराटनगर २० पुस । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले निजी अस्पतालहरुसँग निःशुल्क उपचार पाउने बिरामीको विवरण माग गरेको छ । मन्त्रालयले विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण, अभिलेख तथा प्रतिवेदन पेस गर्न निजी अस्पतालहरुलाई आग्रह गरेको हो ।

मन्त्रालयका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले बिहीबार सबै निजी अस्पताललाई पत्राचार गर्दै निःशुल्क उपचार पाएका बिरामीको विवरणसहितको प्रतिवेदन माग गरेका हुन् । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ पहिलो संशोधन २०७८ मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शैयाको १० प्रतिशत छुट्याई निःशुल्क उपचार अनिवार्य उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

निःशुल्क तथा आंशिक सेवा लिने बिरामीहरुको व्यवस्थित रुपले अभिलेख राखेर त्यसको विवरण मासिक, चौमासिक र वार्षिक रुपमा प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेस गर्नु पर्ने व्यवस्था छ । साथै, निःशुल्क तथा आंशिक सेवा लिएका व्याक्तिहरुको विवरण देखिने गरी सार्वजनिक हिसाबले टाँस्नुपर्ने व्यवस्था पनि छ ।

उल्लेखित व्यवस्था बमोजिमको कार्य नगरेको र नगराएको अवस्थामा स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० को परिच्छेद ११ मा सञ्चालन अनुमति नवीकरण हुन नसक्ने अवस्था र खारेजी सम्बन्धी व्यवस्था छ ।