लोकतन्त्रमा प्रेस स्वतन्त्र हुनुपर्छ : कांग्रेस नेता सिटौला

विराटनगर १७ पुस । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले लोकतन्त्रमा प्रेस स्वतन्त्र अनिवार्य रहेको मुल्य मान्यताप्रति पार्टी अडिग रहेको बताउनु भयो ।

कांग्रेस कोशी प्रदेश सूचना, सञ्चार तथा प्रचार प्रसार विभागद्वारा आज विराटनगरमा आयोजित नेपाल पत्रकार महासङ्घको निर्वाचनमा नेपाल प्रेस युनियनको तर्फबाट विजयी सञ्चारकर्मीहरुलाई सम्मान कार्यक्रममा बोल्दै उहाँले लोकतान्त्रिक शासन प्रणालीको सुदृढीकरणमा सञ्चारजगतको महत्वपूर्ण योगदान रहेको विचार राख्नु भयो ।

नेता सिटौलाले सञ्चारकर्मीले जनताको हकअधिकारप्रति सदैव जागरुक गर्दै आइरहेको चर्चा गर्दै सञ्चार जगत प्रजातन्त्र र लोकतन्त्रको पहेरदार रहेको विचार राख्न् भयो । उहाँले श्रमजीवी पत्रकारको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको चर्चा गर्दै नेकाले उनीहरुको समस्याको उठान गरी समस्या समाधानतर्फ लाग्नु पर्ने सुझाव दिनु भयो । कांग्रेस कोशी प्रदेश समितिका अध्यक्ष एवं पूर्व मुख्यमन्त्री उद्धव थापाले लोकतन्त्र ल्याउन सञ्चार माध्यमले ठूलो भूमिका निर्वाह गरेको चर्चा गर्नु भयो । उहाँले कांग्रेस प्रदेश समितिले पुस २४ गतेदेखि प्रदेशका १४ जिल्लामा पार्टी संगठन सुदृढीकरणका लागि जागरण अभियान शुरु गर्ने जानकारी दिनु भयो ।

कांग्रेस कोशीका महामन्त्री एवं कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले गणतन्त्रलाई बलियो बनाउन सञ्चारकर्मीले कलम चलाउन आग्रह गर्नु भयो । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङगामले मुलुकको समृद्धिमा सञ्चारकर्मीहरुले योगदान दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा केन्द्रीय सदस्य डा डिला सङग्रौला र अमृत अर्याल लगायतले नेपाली कांग्रेस प्रेस स्वतन्त्राप्रति प्रतिवद्ध रहेको बताउनु भयो । सो अवसरमा नेता सिटौलाले युनियनकाबाट विजयी भएको १४ जिल्लाका सञ्चारकर्मीलाई सम्मान गर्नु भएको थियो ।