कोशी प्रदेश जेष्ठ नागरिक महासंघमा अर्ज्याल

विराटनगर १६ पुस । कोशी प्रदेश जेष्ठ नागरिक महासंघको दोश्रो अधिवेशनले अध्यक्षमा पुन : मणिकुमार अर्ज्याल (मोरङ)लाई निर्वाचित गरेको छ ।

विराटनगरमा आज सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्षमा कृष्णभागवत श्रेष्ठ (धनकुटा) उपाध्यक्षमा भगिरथा चापागाँइ (झापा), महासचिवमा यज्ञेश्वर निरौला (मोरङ), सचिवमा जयप्रसाद संग्रौला (झापा) र कोषाध्यक्षमा राधिका थापा (पाँचथर) निर्वाचित हुनु भएको छ ।

सदस्यहरुमा देवी बाँस्कोटा (मोरङ), हरिकृष्ण श्रेष्ठ (सुनसरी), दुर्गाबहादुर न्यौपाने (धनकुटा), कृष्णबहादुर कटुवाल (तेहृथुम), उद्धवचन्द्र आचार्य (खोटाङ) र कोमल निरौला (इलाम) रहनु भएको   छ ।

कोशी प्रदेश जेष्ठ नागरिक महासंघको दोश्रो अधिवेशनको उद्घाटन विराटनगर महानगर प्रमुख नागेश कोइरालाले गर्नुभएको थियो । अधिवेशनमा महासंघको आर्थिक तथा प्रगतिको समीक्षा गरिएको थियो । अधिवेशनले जेष्ठ नागरिकका अधिकारको प्रत्याभूतिका लागि आगामी कार्यदिशा समेत पारित गरेको छ ।

अधिवेशनका अवसरमा महासंघको कार्यालय भवन निर्माणका लागि विराटनगर–१ पोखरियामा रहेको एक कठ्ठा एक धुर जग्गा दानगर्ने विराटनगर ५ का सुरेशकुमार श्रेष्ठ र कमला श्रेष्ठलाई अभिनन्दन गरिएको थियो । जेष्ठ नागरिक जिल्ला संघ इलामलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

अधिवेशनमा १२ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । ओखलढुङ्गा र भोजपुर बाहेका जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।