सुशासनको माध्यमबाट लोकतन्त्रको सुदृढिकरण : मुख्यमन्त्री कार्की

विराटनगर १३ पुस । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासनको माध्यमबाट लोकतन्त्रलाई सुदृढिकरण गर्नु पर्ने बताउनुभएको छ ।

इलामको चुलाचुली गाउँपालिकाको चपेटीमा नेकपा एमाले दमक नगरकमिटीले आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सहकारीको अरबौँ अरब रकम लुट्नेहरुले देशको सिस्टमलाई नै च्यालेन्ज गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘जनताले आधा पेट खाएर सहकारी जम्मा गरेको रकम लुट्न कुनै लुटेरालाई छुट छैन सबै कानुनको दायरा आउनु पर्छ ।’

सहकारीको रकम हिनामिना र ठगीमा एमाले, काँग्रेस वा रास्वपा अन्य कोही भएपनि छोड्न नहुने उहाँको भनाइ छ । देशमा राजनीतिक समस्याहरु आएको, लोकतान्त्रिक शासन प्रणाली, कानुनी राज र संविधानको सर्वाेच्चतामाथि हस्तक्षेप गर्ने र सिस्टममाथि नै कालो पोत्ने प्रयासहरु भइरहेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले त्यसलाई अन्त्य गर्दै लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै सुशासनको माध्यमबाट लाग्नु पर्ने बताउनुभयो । यही कारण न्रै दुई ठुला दलहरु मिलेर संघदेखि प्रदेशसम्म सरकार गठन गरेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘लोकतन्त्र, सुशासन र लोकतन्त्रविरुद्धका गतिविधिलाई परास्त गर्न अहिलेको गठबन्धन बनेको हो ।’उहाँले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाउँदै विभिन्न लान्छान लगाउने काम भइरहेको भन्दै उहाँले देशका सबै नेताहरुका सम्पत्ति छानबिन गर्न चुनौति दिनुभयो ।

सुशासन कायम गर्दै देश विकासमा संघमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र प्रदेशमा आफूले काम गरिरहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले सामथ्र्य र राजश्वले भ्याएसम्म विकासलाई तीव्र बनाउने बताउनुभयो ।