आफूमाथि उठेका सबै प्रश्नको जवाफ दिन तयार छु : लेखा समिति सभापति पोखरेल

विराटनगर ८ पुस । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफूमाथि उठेका सबै प्रश्नको जवाफ दिन तयार रहेको बताउनु भएको छ ।

पोखरेलकी पत्नी अञ्जला कोइरालाका नाममा मोरङ जिल्ला अदालतबाट सहकारी ठगीमा पक्राउ पूर्जी जारी भएको छ । त्यो विषयलाई लिएर सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा प्रश्न उठेको थियो ।

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा सभापति पोखरेलले आफू सबै कुराको कानुनी रूपमा सामना गर्न तयार रहेको बताउनुभयो । ‘यहाँ बैठकमा केही विषयवस्तुहरू व्यक्तिगत रूपमा यहाँ उठेका छन् । म सबै परीक्षामा संलग्न हुन तयार छु, उनले भन्नुभयो, ‘नेपालको कानुन, संविधानसँग विश्वास गर्ने व्यक्ति हो ।’

सांसदहरूले उठाएका विषयप्रति आफ्नो कुनै जवाफ नभएको र सदासयतामा उठेका विषयप्रति आभार रहेको बताएका थिए । समितिको काममाथि सार्वजनिक रूपमा उठेका प्रश्न सही नभएको पनि सभापति पोखरेलको दाबी थियो । उहाँले भन्नुभयो,‘ बेनामे दिएका उजुरीमाथि सार्वजनिक लेखा समितिको काम भयो भनियो तर समितिको मूल काम भने छायामा पर्यो ।

११२ बैठक भइसकेछ । मूल काम गरेकै हो । ती विषयवस्तुलाई ख्याल गर्नुपर्ने हो ।’