नागरिकमा आशा जनाउन पत्रकारको भुमिका महत्वपूर्ण : मन्त्री भण्डारी

विराटनगर, ४ पुस । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले नागरिकहरुमा आशाको संचार जगाउन पत्रकारको भुमिका बढी महत्वपूर्ण रहेको बताउनुभएको छ ।

कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा राष्ट्रिय समाचार समिती(रासस)ले विराटनगरमा आयोजना गरेको जिल्ला संवाददाताहरुका लागि क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रमको आज समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बनाउनुभएको हो ।

सरकारले गरेको विकास निर्माण र सेवा प्रवाहको बारेमा गलत प्रचार भएकाले नागरिकहरू निराशा पैदा भएको मन्त्री भण्डारीले बताउनुभयो । जसलाई चिर्न र संघीय संरचना प्रती सुसूचित गराउन पत्रकारले सशक्त ढंगबाट कलम चलाउन उहाँले आग्रह गर्नुभयो । विगतको संरचना भन्दा प्रदेश संरचना कम खर्चिलो भएपनी यो कुरा नागरिकलाई बुझाउन नसक्दा गलत छाप परेको मन्त्री भण्डारीको भनाइ छ ।“ संघीयता पछि भएका विकास र परिवर्तनहरुलाई प्रचार गर्न नसक्दा नागरिक निराश हुँदै गएका छन् यहाँ आशावादी कुरा भन्दा निराशावादी कुरा गर्दै हिड्नेहरु धेरै छन् जसले गर्दा समाजमा भ्रम फैलिएको छ, यसलाई चिर्नु आजको दायित्व हो ।

पत्रकारले राजनितिकर्मीहरुलाई रचनात्मक आलोचनाको माध्यमबाट खबरदारी गर्नुपर्छ, संघीयता सेतो हाती हैन भन्ने कुरा प्रष्ट पर्दिनुस ।“ मन्त्री भण्डारीले भन्नुभयो । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले संघीयता पछि गति लिएका विकास निर्माणलाई केन्द्रमा राखेर कलम चलाउन रिपोर्टरहरुलाई निर्देशन दिनुभयो । मुलुक संघीय संरचनामा गइसकेपछी थुप्रै विकास निर्माणले गति लिएपनि पत्रकारको आँखा त्यहासम्म पुग्न नसकेको उहाँको भनाइ छ ।

विकास पत्रकारिताबाट नागरिकमा आशाको संचार फैल्याउन सक्ने भनेकाले त्यसमा लाग्न अध्यक्ष झाको आग्रह छ । राससका महाप्रबन्धक सिद्धराज राईले विकास पत्रकारितालाई जोड दिन आग्रह गर्नुभयो । पत्रकारहरु प्रती नागरिकको भरोसा बढी हुने भएकाले जिम्मेवार ढंगबाट कलम चलाउन संवाददाताहरुलाई निर्देशन दिनुभयो । रासस कोशी प्रदेश प्रमुख मोहम्मद सदरुलले तालिमका लागि सहयोग गरेकोमा प्रदेश सरकारलाई धन्यवाद दिनुभयो । तालिम प्रदेशका संवाददाताहरुलाई पुनर्ताजगी गराएको उहाँको भनाइ छ ।

कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्य तथा रासस कोशी प्रदेशको संयोजनमा राष्ट्रिय समाचार समिती(रासस)ले आयोजना गरेको तीन दिने प्रशिक्षण कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्लाका रासस संवाददाताहरुको सहभागिता रहेको थियो ।