सहकारी ठगी प्रकरण : लामिछाने सहित ५१ जनालाई मुद्धा चलाउन सिफारिस

विराटनगर २ पुस । प्रहरीले पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय सर्वसाधारणको बचत अपचलनमा अन्य ५० जनालाई जस्तै रास्वपा सभापति रवि लामिछानेलाई पनि मुद्दा चलाउने सिफारिससहित प्रतिवेदन बुझाएको छ ।

लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा चारदेखि ६ वर्ष तथा थप ५० प्रतिशत र सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद र २८ करोड बिगो र त्यति नै जरिवाना असुल गर्ने मागसहित मुद्दा चलाउन सिफारिस गरिएको छ ।

सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गरेर मुद्दा दर्ता गर्ने जनाएको छ ।

सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका तथा फरार रहेका १९ व्यक्तिविरुद्ध २०८० असोज १८ मा मुद्दा दर्ता भइसकेको छ ।

मुद्दा चलाइएकामध्ये गोर्खा मिडिया नेटवर्कका अध्यक्षसमेत रहेका जीबी राई फरार छन्, सोही कम्पनीका सञ्चालक कुमार रम्तेल पुर्पक्षका लागि २०८० भदौदेखि कास्की कारागारमा छन ।

अब लामिछानेसहित ३२ जनलाई मुद्दा चलाउन र समग्रमा सहकारीको कुल १ अर्ब ३५ करोड असुल गर्न प्रहरीको राय छ ।

सूर्यदर्शन सहकारीबाट गितेन्द्रबाबु (जीबी) राईमार्फत लामिछानेको ग्लोबल आईएमई बैंकको खातामा ७५ लाख जम्मा भएको तथा सूर्यदर्शन सहकारीमा नै लामिछानेको नाममा पेस्की जनाई ५० लाख गोर्खा मिडियामा भुक्तान भएको प्रमाण भेटिएको प्रहरीको दाबी छ ।

त्यस्तै, सूर्यदर्शनसहितका सहकारीको रकम अपचलन गरी लामिछाने सेयरधनी तथा प्रबन्ध निर्देशक भएको समयावधिमा गोर्खा मिडिया नेटवर्कमा २६ करोड १४ लाख ४४ हजार रकमान्तर भएको प्रहरीको दाबी छ । यसरी कुल २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ बिगो दाबी गरिएको हो ।

लामिछानेले बयानका क्रममा सहकारीको बचत हिनामिना गर्ने कार्यमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका थिए । उनले सहकारी संस्थाबाट अपचलन भएपश्चात बैंक खातामा जम्मा भएको रकम परिचालन गर्ने कार्यमा खाता सञ्चालकका रूपमा मात्रै आफू संलग्न रहेको र उक्त खातामा जम्मा भएको रकम सम्बन्धमा सहकारीबाटै आएको भनी थाहा नभएको दाबी गरेका थिए । तर उनले सहकारीलाई किस्ता तिर्न कम्पनीकै सञ्चालकका रूपमा काटेका चेकहरूको प्रतिलिपि प्रहरीले संकलन गरेको छ ।

पटकपटक विभिन्न सहकारीबाट रकम निरन्तर रूपमा कम्पनीको खातामा जम्मा भएको र लामिछानेले दस्तखत गरी काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीलाई किस्ता भुक्तानी दिएको पाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । त्यस्तै लामिछाने सञ्चालक रहेको गोर्खा मिडियाको खातामा वीरगन्जको सानो पाइला सहकारीबाट पनि रकम जम्मा भएको बैंक स्टेटमेन्ट फेला परेको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।