तेजस्वी सहकारीको स्वास्थ्य शिविरमा २५० जनाको स्वास्थ्य परीक्षण

विराटनगर २३ मंसिर । तेजस्वी सहकारी संस्था विराटनगर ५ ले आयोजना गरेको स्वास्थ्य शिविरमा २५० जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

विराटनगर महानगरपालिका र करुणा फाउन्डेसन नेपालसँगको सहकार्यमा सहकारी संस्थाको प्राङ्गणमा शनिबार आयोजना गरिएको स्वास्थ्य शिविरमा २५० जनाको स्वास्थ्य परीक्षण गर्दा ७५ जनाको पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएको सहकारी संस्थाका अध्यक्ष रमेश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुशार पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएका मध्ये तीन जनाको भीआईए पोजेटिभ देखिएकाको पनि उपचार गरिएको थियो ।

शिविरमा आवश्यक औषधि वितरण, पीएफटी जाँच र फिजियो थेरापी सेवाका साथै भिडियो एक्सरे सेवा मोरङ सहकारी अस्पतालले निःशुल्क गरेको सहकारीकी लेखा समिति सदस्य मीना खनालले बताउनुभयो ।

स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.बालकृष्ण साह, फिजिसियन डा.पूजा कोइराला, हाडजोर्नि तथा नशा रोग डा.मनोज फुयाँल, बाल रोग विशेषज्ञ डा.शेषकुमार यादवले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।