मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका १३ जना उम्मेदवारको जमानत जफत ।
विराटनगर १७ मंसिर । मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका १६ उम्मेदवार मध्ये १३ जना उम्मेदवारको जमानत जफत भएको छ । माओवादी केन्द्र, कांग्रेस र एमालेका उम्मेदवार बाहेकका १३ उम्मेदवारले जमानत जोगाउन सकेनन् ।
कुल १८ हजार ५७७ मत खसेकोमा १८ हजार २०७ मत सदर भएको छ । ३७० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल सदर मत १८ हजार २०७ को १० प्रतिशत मत १ हजार ८२१ मत ग्रामथानको अध्यक्ष पदमा उम्मेदवारी दिएका १६ जना उम्मेदवार मध्ये १३ उम्मेदवारले कटाउन सकेनन् ।
स्थानीय तह निर्वाचन ऐेन २०७९ को दफा ६३ अनुशार कुल सदरमतको १० प्रतिशत मत नकटाए जमानत जफत हुने व्यवस्था छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १० प्रतिशत मत नकटाउनेमा राप्रपाका दिनेशकुमार थन्दार (दिवेश)ले ५५५, रास्वपाका नवीनकुमार विश्वासले ३७५, समावेशी समाजवादी पार्टी नेपालका बोधनारायण माझीले २३३, नेकपा (एकीकृत समाजवादी) पार्टीका दिलबहादुर विश्वकर्माले १४४, स्वतन्त्र उम्मेदवार नमनारायण चौधरीले १३०, नागरिक उन्मुक्ति पार्टीका बुद्धिचन विश्वासले ८९, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका सुरेशकुमार राजवंशीले ४७ मत प्राप्त गरेका छन् ।
त्यसैगरि मंगोल नेशनल अर्गनाइजेसनका भरत राईले ४५, जनमत पार्टीका विनोदकुमार माझीले ४२, कमल थापा नेतृत्वको राप्रपा नेपालका राजु मुसहरले २७, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का पर्शुराम विश्वास थारुले २६, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का धर्मेन्द्रकुमार चौधरीले १८, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरीले १५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गत असार ३ गते ग्रामथानका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएका कारण आईतबार उपनिर्वाचन भएको थियो । निर्वाचनमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी निर्वाचित हुनु भएको थियो ।