डा. तुम्बाहाङफेद्धारा लिखित ‘नेपालमा महिला आन्दोलन’ पुस्तक अनुसन्धानमुलक

विराटनगर १५ मंसिर । प्रतिनिधि सभा पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाङफेद्धारा लिखित नेपालमा महिला आन्दोलन पुस्तक अनुसन्धानमा आधारित भएको समीक्षकहरुले बताएका छन् ।
वि.स. २००४ देखि २०४६ सम्म भएको नेपाली महिला आन्दोलन र विश्व महिला आन्दोलनमा केन्द्रीत रहेर लेखिएको पुस्तकको शनिबार विराटनगरमा समीक्षा गरिएको थियो ।

वि.सं. २०५९ सालमा पहिलो संस्करण र हालै प्रकाशित दोश्रो संस्करणको विराट साहित्य संगमले आयोजना गरेको पुस्तक चर्चा कार्यक्रमका समीक्षकहरुले पुस्तक अनुसन्धानमा आधारित रहेको बताएका हुन् ।
पुस्तकको समीक्षा गर्दै विराट साहित्य संगमका सल्लाहकार दिनेश श्रेष्ठले नेपालको महिला आन्दोलनबारे रुची राख्नेहरुका लागि पुस्तक महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले महिला आन्दोलनको इतिहास र विश्व महिला आन्दोलनबारे पुस्तकमा समेटिएको बताउनुभयो ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा प्राध्यापनरत इन्दिरा प्रसाईंले नेपालमा महिला आन्दोलन सवैले पढ्नुपर्ने कृति रहेको बताउनुभयो । उहाँले पुस्तकलाई अझै अनुसन्धानमुलक बनाउन आवस्यक रहेकोमा जोड दिनुभयो । आर्थिक, राजनीतिक र सामाजिक विभेदमा परेका महिलाका सवालहरू पुस्तकमा समेटिएको उहाँले बताउनुभयो । वि.सं.२०६२–०६३ को महिला आन्दोलनलाई पनि पुस्तकमा समेट्न उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘ महिला आन्दोलन इतिहासको अभिलेख पुस्तकमा समावेश छ ।’ महिलाहरूले अझै कार्यकारी नेतृत्वमा पुग्न नसकेको र नेपाल, राजनीति र महिलाका बारेमा पुस्तक जानकारी मुलक रहेको प्रसाईले बताउनुभयो ।

एमाले केन्द्रीय उपाध्यक्ष गुरु बरालले पुस्तकले विश्वको महिला आन्दोलन समेट्न सके अझ राम्रो हुने सुझाव दिनुभयो । उहाँले महिला आन्दोलनको इतिहास खोज्नका लागि पुस्तक महत्वपूर्ण श्रोतका रूपमा रहेको उल्लेख गर्नुभयो । एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व मन्त्री जीवन घिमिरेले महिला अधिकार क्षेत्रमा युगान्तकारी परिवर्तन भएको बताउनुभयो । नेपालमा महिला आन्दोलन पुस्तक महिलाको लागि प्रेरणाको श्रोत बन्ने उहाँले बताउनुभयो ।

प्रा.डा. हरिहर भण्डारीले नेपाली महिला संस्कृतिको कुरा पुस्तकले समेट्न नसकेको बताउनुभयो । उहाँले महिलालाई उच्च सम्मान दिएकाले नेपाली महिला संस्कृतिको विषय समेट्न आग्रह गर्नुभयो । उहाँले महिला संस्कृतिको कुराले हाम्रो संस्कृति र सभ्यतालाई बल पुग्ने बताउनुभयो । कवि शिवनारायण पण्डित (सिंगल)ले बर्तमान समयमा महिलाले गरेको योगदान समेट्न आग्रह गर्नुभयो ।
डा. शिवमाया तुम्बाहाङफेले छुटेका विषयहरु आगामी संस्करणमा थपिने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपालको महिला आन्दोलनको प्रारम्भ २००४ देखि ०४६ सम्मको राजनीतिक आन्दोलनलाई पुस्तकले समेटेको बताउनुभयो । उहाँले विद्यार्थीका लागि पनि पुस्तक आवस्यक रहेको बताउनुभयो ।

पुस्तक चर्चा कार्यक्रममा प्राज्ञ खेम नेपाली, साहित्यकार बलराम पोखरेल, शुभलक्ष्मी लम्साल, रामबाबु दाहाल लगायतले २०४६ पछिका महिला आन्दोलनका विषयलाई समेटेर चाँडै अर्को संस्करण ल्याउन सुझाव दिनुभयो ।

डा. तुम्बाहाङफेद्धारा लिखित पुस्तक नेपालमा महिला आन्दोलन दोश्रो संस्करण विराट साहित्य संगम विराटनगरले प्रकाशन गरेको हो ।