विराटनगर १३ मंसिर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको बेरुजू ४१ करोड ३९ लाख पुगेको छ । स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरि ५ आर्थिक वर्षको बेरुजू रकम ४१ करोड ३९ लाख १३ हजार ५ रुपैयाँ पुगेको जनाएको छ ।
आर्थिक वर्ष २०७५–०७६ मा स्वास्थ्य मन्त्रालयको बेरुजू १ करोड ९२ लाख ६७ हजार ४४९ रहेको थियो । स्वास्थ्य मन्त्री भूपेन्द्र राईले असुल गर्ने बाँकी बेरुजू ३ करोड ५ लाख रहेको बताउनुभयो । पत्रकार सम्मेलनमा मन्त्री राईले आर्थिक वर्ष २०७५/०७६ देखि हाल सम्म खर्च भएर नजाने जिन्सीहरुमा एम्वुलेन्स १७, शब बहान २, गाडी ४५, मोटरसाईकल ११२ र स्कुटर १४ वटा रहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा मन्त्री राईले मन्त्रालयमा कडा रोग लागेका ३ हजार २४३ जनाको निवेदन दर्ता भएको बताउनुभयो । दर्ता भएका निवेदन मध्ये ५१५ जनालाई भुक्तानी दिने निर्णय गरिएको बताईएको छ । दर्ता भएका मध्ये २ हजार ७३४ जनालाई भुक्तानी दिन बाँकी रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । निवेदन दर्ता गर्नेहरुमा क्यान्सर, मृगौला र मुटुरोग लागेका बढी रहेको बताईएको छ ।
स्वास्थ्य मन्त्री राईले स्वास्थ्य मन्त्रालय मातहत ११ औं तहका प्रमुख मेडिकल सुपरीटेन्डेन्टको दरबन्दी ५ जना रहेको र सवै रिक्त रहेको बताउनुभयो ।
अस्पतालहरुमा ९ औं र १० औं तहका ४९ जनाको दरबन्दी रहेकोमा ४६ जना रिक्त रहेको बताईएको छ । नवौं र दशैं तहका १० जना मेडिकल सुपरिटेन्टेन्डको दरबन्दी रहेकोमा सवै रिक्त, एउटा दरबन्दी रहेको अस्पताल नर्सिङ प्रशासक पनि रिक्त रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।