पत्रकार नवोदितसहित तीनजना सम्मानित

विराटनगर, ८ जेठ । पत्रकारिता र साहित्यमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय कवि एवं पत्रकार मीनकुमार नवोदितसहित तीनजना सम्मानित भएका छन् ।

विराटनगरस्थित पुरुषोत्तम–धनकुमारी चापागाईं स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको ११ हजार राशिको पत्रकारिता पुरस्कार तथा सम्मान कविसमेत रहेका नवोदितलाई समर्पण गरेको हो । नवोदित मकालु टेलिभिजनको कार्यबाहक सम्पादक र कारोबार दैनिकको प्रदेश–१ प्रमुख छन् । उनी साहित्य लेखनमा पनि सक्रिय छन् । उनका तीनवटा कवितासंग्रह प्रकाशित भइसकेका छन् । सो सम्मान यसअघि पत्रकार विक्रम निरौला, सुशीला पाठकलगायतलाई प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्रतिष्ठानका अध्यक्ष माधवप्रसाद अत्रिलगायतले दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र प्रदान गरेका थिए ।

त्यसैगरी सोही अवसरमा कवि लक्ष्मी पोखरेल र समाजसेवी तारा बाराकोटीलाई पनि सम्मान गरिएको थियो । पोखरेललाई साहित्य र बाराकोटीलाई समाजसेवातर्फको सम्मान प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष अत्रिले बताए । उनीहरुलाई पनि जनही ११ हजार र सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्राज्ञ सुवेदी, प्राध्यापक कविराज न्यौपाने, साहित्यकार दिङ्लाली कान्छो, प्रा.डा. चक्रपाणि खनाल, ओमशान्तिकी रेणु बहिनीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।