जनता समाजवादी पार्टी अन्य पार्टीमा विलय हुँदैन : मन्त्री यादव

विराटनगर ९ मंसिर । सङ्घीय खानेपानी मन्त्री तथा जनता समाजवादी पार्टीका उपमहासचिव प्रदीप यादवले जनता समाजवादी पार्टी कुनै अन्य पार्टीका विलय नहुने बताउनु भएको छ ।

विराटनगर–९ मा पार्टीकोे जिल्ला कार्यालयको आज उद्घाटन गर्दै उहाँले पार्टीलाई बलियो बनाउन गाँउगाउँ, टोलमा संगठन विस्तार कार्यमा सबै सदस्यहरुलाई क्रियाशिल हुन आग्रह समेत गर्नुभयो ।

पार्टीको उपमहासचिव समेत रहनु भएका मन्त्री यादवले आगामी तीन बर्षभित्र मुलुकको मुख्य पार्टीको रुपमा निर्माण गर्ने विश्वास दिलाउनुभयो । उहाँले तराई मधेशबाट प्रतिनिधित्व गर्ने अन्य पार्टी( उपेन्द्र यादव)को वाहकेका एउटा मोर्चा गठनको निर्माणको प्रक्रियामा रहेको जानकारी दिँदै चाँडै सार्वजनिक गर्ने बताउनु भयो ।

मन्त्री यादवले पार्टी गठनको छ महिनाको छोटो अवधिमा विभिन्न वाधाव्यधानलाई चिर्दै जिल्ला /जिल्लामा पार्टीलाई शक्तिशाली बनाउन लागि परेको विचार राख्नु भयो ।

पार्टीका कोशी प्रदेश उपाध्यक्ष केशब गुरुङ र जिल्ला अध्यक्ष मोहम्मद नसरुलले प्रदेश तथा जिल्लामा पार्टीको संगठन विस्तार एवं जनताको पार्टीप्रति आकर्षण वढेको विचार राख्नु भयो ।