मोरङको रंगेलीमा एमालेको ऐतिहासिक जित, एक सदस्य बाहेक सवै एमालेका उम्मेदवार निर्वाचित

विराटनगर, ८ जेठ । मोरङको रंगेलीमा एमालेले ऐतिहासिक जित निकालेको छ । रंगेली नगरको ४७ पदको लागि भएको निर्वाचनमा एमालेले एक सदस्य बाहेक सवै पदमा विजयी भएको छ ।

वडा नम्वर ६ को एक सदस्य जसपाले जितेको छ । ९ वटा वडा रहेको रंगेलीमा एमालेले वडा नम्बर ६ मा एक सदस्य पद गुमाउनु बाहेक सवै जितेको छ । मोरङको रंगेलीको मेयरमा एमाले उम्मेदवार दिलिपकुमार अग्रवालले नेपाली कांग्रेसका मोदराज घिमिरेलाई ३ हजार ८ सय मतान्तरले पराजित गरेका छन् । अग्रवालले १२ हजार ८६१ मत ल्याएका छन् । घिमिरेले ९ हजार ६१ मत प्राप्त गरे ।

नगर उपमेयरमा एमालेकी भुमाकुमारी पराजुली निर्वाचित भएकी छिन् । उनले ११ हजार ७९० मत ल्याएकी छिन् । उनका निकटतम् प्रतिद्धन्द्धी जसपाका पन्नालाल मण्डलले ५ हजार १७५ मत ल्याएका छन् ।

रंगेलीको मेयरमा निर्वाचित अग्रवाल अघिल्लो कार्यकालमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । एमाले प्रवेश गरि पुन : उम्मेदवार बनेका थिए । ०७४ को निर्वाचनमा नेपाली कांग्रेसका घिमिरेलाई नै उनले पराजित गरेका थियो । अघिल्लो निर्वाचनमा उनले घिमिरेलाई १ हजार ८८२ मतान्तरले पराजित गरेका थिए । एमाले तेश्रो बनेको थियो ।

पुन : उम्मेदवार बनेका घिमिरे गठबन्धनका तर्फबाट प्रतिष्पर्धामा रहेका थिए । निर्वाचनमा धाँधली भएको भन्दै गठबन्धनले ५ वटा वडाको परिणाम सार्वजनिक भईसकेपछि गणना बहिस्कार गरेको थियो ।