पूर्वाञ्चल विश्वविद्यालयले बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

विराटनगर ६ कात्तिक । पूर्वाञ्चल विश्वविद्यालयले बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएकाे छ ।

पूर्वाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र संकायको आयोजनामा नेपालमा पहिलो पटक नेपालमा प्रारम्भिक बाल विकास इकाेसिस्टम परिकल्पना विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आगामी मंसिर २१ र २२ गते विराटनगरमा हुने भएकाे हाे ।

सम्मेलनमा नेपाल, अमेरिका, मलेसिया, भारत बंगलादेश लगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहने शिक्षाशास्त्र संकायका डिन प्रा.डा. अनिलकुमार पाेखरेलले जानकारी दिनुभयाे ।

नेपालमा प्रथम पटक आयोजनाअन्तर्राष्ट्रिय सम्मेलनमा बालविकासका क्षेत्रमा प्राज्ञिक बहस र विमर्श गराउने मुख्य उद्देश्य राखिएको उहाँले बताउनुभयाे। सम्मेलनमा बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाहरुको हेरचाह, बालविकासका क्षेत्रमा आवश्यक जनशक्ति, पेशागत विकास र नैतिकता, जलवायु परिवर्तन र त्यसले बालबालिकालाई परेको प्रभाव बालबालिकाको पोषण तथा यसले बाल विकासमा पारेको प्रभाव, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तन आदि विषयमा ४० भन्दा बढी सहभागीहरुले आफ्नो अध्ययन अनुसन्धान प्रस्तुत गर्ने कार्यक्रम रहेको डिन डा. पाेखरेलले जानकारी दिनुभयाे ।

सम्मेलनमा विभिन्न देशका विशिष्ट व्यक्तित्वहरुबाट की नाेट तथा विविध प्रकारका कार्यशालामा बालबालिकाहरूका सर्वाङ्गिण विकासका अवसरहरूको गुणस्तर र पहुच सुधार एवं सुनिश्चित गर्ने विषयमा बहस केन्द्रित हुने बताईएकाे छ । डिन डा. पाेखरेलले भन्नुभयाे,’सम्मेलनमा प्रस्तुत भएका कार्यपत्र एवं कार्यशालाहरुबाट विश्वविद्यालयले भविष्यमा शिक्षाशास्त्र संकाय अन्तर्गत रहने गरी इसीडी सम्बन्धि अध्ययन/अनुसन्धान गर्ने केन्द्र सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।’

सम्मेलनले बालविकासका क्षेत्रमा नया एवं समाजको आवश्यकता अनुसारका स्नातक, स्नातकोत्तर लगायतका विशेष कार्यक्रमहरुको पहिचान गर्न र सो अनुरुप कार्यक्रमहरु थप गर्न सघाउ पुग्ने विश्वास विश्वविद्यालयकाे छ ।

सम्मेलनका लागि विश्वविद्यालयले काठमाडौं महानगरपालिका, विराटनगर महानगरपालिका, नविल बैंक, प्लान इन्टरनेशनल, सेभ द चिल्ड्रेन लगायतका विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरेकाे छ ।