लागुऔषध प्रयोगकर्ता बर्षेनी बढ्दै, तीनै तहको सरकारको प्राथमिकता भित्र पार्न जोड

विराटनगर ६ मंसिर । लागुऔषध प्रयोगकर्ताको संख्या बर्षेनी बढ्दै गएको छ । लागुऔषध प्रयोगकर्ता बर्षेनी बढ्दै गएका कारण समस्या समाधानका लागि तीनै तहको सरकारको प्राथमिकता भित्र पार्न सरोकारवालाहरुको जोड छ ।

रिकभरी नेपाल कोशी प्रदेश विराटनगरले बुधबार विराटनगरमा पत्रकारसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रदेश र स्थानीय सरकारले पनि लागुऔषधलाई आफ्नो प्राथमिकताको क्षेत्रमा राख्न माग गरिएको छ । नेपालमा सन् २००७ मा ४६ हजार ३०९ जना लागुऔषध प्रयोगकर्ता थिए । त्यसमा महिलाको संख्या ३ हजार ३५५ थियो । सन् २०१३ मा लागुऔषध प्रयोगकर्ताको संख्या ९१ हजार ५३४ पुग्यो । पछिल्लो सन् २०२० मा गरिएको सर्भेक्षणमा लागुऔषध प्रयोगकर्ताको संख्या १ लाख ३० हजार ४२४ छ । जसमा महिलाको संख्या ८ हजार ७३२ छ ।

तथ्याङ्क अनुशार २५ देखि २९ उमेर समूहमा यो समस्या रहेको पाईएको छ । बर्षेनी लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दो क्रममा रहेकाले यसका लागि राज्यको ध्यान आवस्यक रहेको रिकभरी नेपाल कोशी प्रदेशका उपाध्यक्ष संजीव चापागाँइले बताउनुभयो । उहाँले राज्य विकेन्द्रीकरणमा गएपनि प्रदेश र स्थानीय सरकारको प्राथमिकतामा लागुऔषध प्रयोगकर्ताको तथ्यांक संकलन, नियन्त्रणका लागि आवस्यक कार्यक्रम सञ्चालनमा ध्यान पुग नसकेको बताउनुभयो । उहाँले लागुऔषध प्रयोगकर्ताको संख्या बढेपनि लागु औषधको प्रयोगबाट हुने रोगको क्रमलाई भने घटाउँदै लगिएको बताउनुभयो । उहाँका अनुशार लागुऔषध प्रयोगकर्ताका लागि मौखिक प्रतिष्थापन उपचार पद्धती प्रभावकारी रहेको छ ।

रिकभरी नेपाल कोशी प्रदेशले लागुऔषध प्रयोगकर्ताकोहरुको सेवामा व्यवस्थापन तथा आवस्यक तालिम, लागुऔषधको समस्यालाई स्थानीय र प्रदेश सरकारले पनि प्राथमिकतामा पार्नुपर्ने, सडक बालबालिकाको लागुऔषधको समस्या सवै निकायले व्यवस्थापन गर्नुपर्ने, पुर्नस्थापना तथा उपचार कार्यक्रम प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय वा सामाजिक विकास मन्त्रालयबाट हुनुपर्ने माग गरेको फाेकल पर्शन निश्मा नेपालले जानकारी दिनुभयो ।