कटहरी आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण

विराटनगर ६ मंसिर । मोरङ कटहरी गाँउपालिकाले वडा नं. ४ मा आफ्नै आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण गरेको छ । रंगेली नगरपालिकाकी मञ्जु देवी अग्रवालले निशुल्क उपलब्ध गराउनु भएको २ कट्ठा जग्गामा आफ्नै भवन निर्माण गरिएको हो ।

करिब ७० लाख रुपैयामा निर्माण गरिएको आफ्नै भवन निर्माण पछि भाडामा बस्दै आएको आधारभूत स्वास्थ्य केन्द्र सारिएको छ । आधारभूत स्वास्थ्य केन्द्र भाडामा संचालन गर्दा वडा कार्यालयले मासिक ७ हजार रुपैया भाडा तिर्दै आएको थियो ।
नयाँ आधारभूत स्वास्थ्य केन्द्र भवनमा ६ वटा कोठाहरु रहेका छन् । बुधवार एक कार्यक्रम बीच कटहरी गाँउपालिकाका अध्यक्ष देवराज चौधरीले आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै अध्यक्ष चौधरीले कटहरी गाँउपालिकाका सबै कार्यालय र स्वास्थ्य केन्द्रहरु आफ्नै भवनमा राख्ने रणनीति अनुसार भवन निर्माण गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्य चौकी कटहरीमा बुधवार देखि निशुल्क फिजियोथेरापी सेवा शुरु गरिएको छ । विभिन्न दातृ संस्थाहरुले उपलब्ध गराएको फिजियोथेरापीका सामानहरु अलपत्र अवस्थामा रहेकोले स्वास्थ्य चौकी कटहरी परिसरमा एक कोठे भवन निर्माण गरि निशुल्क फिजियोथेरापी सेवा उपलब्ध गराउन थालेको कटहरी गाँउपालिकाले जनाएको छ ।