विराटनगर ५ मंसिर । ३५ औं अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा सुनसरीको इटहरीमा यातायातमा बालसंरक्षण सचेतना कार्यक्रम गरिएको छ ।
सार्वजनिक सवारीका साधनमा २ मिनेट कार्यक्रम अन्तरगत यातायातमा यात्रा गर्ने यात्रीहरुलाई बालबालिका खोजतलास नं. १०४ र बालहेल्पलाईन नं. १०९८ को वारेमा जानकारी गराईएको थियो भने विभिन्न प्रचार सामग्रीहरुको वितरण गरिएको थियो ।
कार्यक्रममा १ सय वटा यात्रुवाहक वस तथा मिनिवसहरुमा करिव २ हजार ५०० जनामा जानकारी गराईएको राष्ट्रिय बालअधिकार परिषद् प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले जानकारी दिनुभयो । राष्ट्रिय बालअधिकार परिषद्, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेशको आयोजना, ईटहरी उपमहानगरपालिका, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी, ईलाका प्रहरी कार्यालय ईटहरी, बालहेल्पलाईन सेवा १०९८ मोरङ र सुनसरी, सिविन नेपाल र बालबालिकासँग कार्यरत संस्थाहरुको सहकार्य र भ्वाईस अफ चिल्ड्रेन को सहयोगमा यातायातमा बालसंरक्षण सचेतना कार्यक्रम सञ्चालन गरि दिवस मनाईएको अधिकारीले बताउनुभयो ।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाका, ट्राफिक प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।