विराटनगरमा एमालेको स्थिति सुधार : उपप्रमुख, ९ वडाध्यक्ष र २७ वडासदस्य निर्वाचित

विराटनगर ७ जेठ । नेकपा एमालेले विराटनगरमा आफ्नो स्थिति सुधार गरेको छ । मेयर पदमा एमाले पराजित भएपनि उपमेयर सहित ९ वटा वडामा विजयी हासिल गर्नु एमालेको उपलब्धि हो ।

०७४ को स्थानीय तह निर्वाचनमा तीन वटा वडा अध्यक्ष र केही सदस्यलाई निर्वाचित गराउन सकेको एमालेले कांग्रेस र जनता समाजवादी पार्टीको प्रभाव क्षेत्रमा पनि झण्डा फहराउन सफल भएको छ ।

विराटनगरमा एमालेबाट शिल्पा निराला कार्की सहित ९ जना वडाध्यक्ष निर्वाचित भएका छन् । एमालेले विराटनगर ३ मा वडाध्यक्ष बासु वस्नेत, ४ मा जितन थापा, ८ मा राम पोखरेल, १४ मा सुर्यनारायण महतो र १९ मा श्याम घिमिरे सहित प्यानलै जितेको छ ।

विराटनगर १ मा वडाध्यक्ष काजीबहादुर वस्नेत सहित ३ सदस्य, २ मा कुमार पोखरेल सहित एक सदस्य, १० मा अर्जुन गिरी सहित २ सदस्य, ११ मा तिर्थेन्द्र न्यौपाने सहित २ सदस्य , वडा नम्वर १२ मा ३ जना सदस्य, १३ मा ३ सदस्य निर्वाचित भएका छन् ।
०७४ मा एमालेले जितेको विराटनगर वडा नम्वर ६ गुमाएको छ । विराटनगर २ र ११ मा एमालेका उम्मेदवारले निरन्तरता पाएका छन् । एमालेले विराटनगर १, ३, ४, ८, १०, १४ र १९ मा विजयी हासिल गरेको छ ।


कुन वडामा कतिले एमाले पराजित भयो ?
विराटनगर ५ मा एमाले उम्मेदवार मीनकुमार आचार्य १ हजार ३५, ६ मा अनिल आलम ८ सय ८१, ७ मा दामोदर तिवारी ८ सय ४६, ९ मा श्रीप्रकाश तोतला ६ सय ६२, १२ मा भोला बराल १ सय ३, १६ मा कुमार महर्जन ६७ मत अन्तरले वडाध्यक्षमा पराजित भए ।

विराटनगर १३ मा किशोरकुमार पोखरेल र १७ मा मोहम्वत हमित आजाद तेश्रो स्थानमा रहे भने १५ मा धर्मानन्द सञ्जेल र १८ मा भुवनेश्वर यादव चौथो स्थानमा पुगेका छन् ।