विराटनगर ४ मंसिर । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) का लागि विराटनगर किंग्सले आज साँझ जर्सी सार्वजनिक गरेकाे छ ।
काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जर्सी सार्वजनिक गर्नु भएकाे हाे । उहाँले क्रिकेट विकासका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेकाे बताउनुभयाे । विराटनगर महानगरपालिकाका प्रमुख नागेश काेइरालाले क्रिकेटको विकासमा प्रदेश र संघीय सरकारले विशेष जाेड दिनुपर्ने बताउनुभयाे । उहाँले महानगरपालिका पनि सहयाेग गर्न तयार रहेकाे बताउनुभयाे ।
कार्यक्रममा विराटनगर किंग्सका पारस लुनियाले क्रिकेटकाे विकासका लागि तीनै तहका सरकारकाे सहयाेग आवश्यक रहेकाे बताउनुभयाे । उहाँले एनपीएल कुनै व्यक्तिकाे नभएर राज्यको सम्पत्ति भएकाे बताउनु भयाे । कार्यक्रममा महिला यु १९ का काेच महेश रिजाललाई सम्मान गरिएकाे थियाे ।
जर्सी सार्वजनिक कार्यक्रममा मार्की खेलाडी सन्दिप लामिछाने पनि सहभागी थिए । विराटनगर टिममा सन्दीप लामिछाने (मार्की प्लेअर), लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुवास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ छन् । विदेशी खेलाडीहरूमा ओमानका कप्तान अकिब इल्यास, मार्टिन गप्टिल, निकोलस किर्टोन, क्रिस साेल छन् ।
एमएडी ड्रिम्स स्पोर्ट्सको स्वामित्वमा रहेको विराटनगरले आयरल्यान्डका पूर्वक्रिकेटर केभिन ओब्राएनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ । विराटनगरले मार्की प्लेअर र अक्सनमार्फत १० खेलाडी अनुबन्ध गरिसकेकाे छ । यस्तै हरेक टोलीले ट्यालेन्ट हन्टबाट १ खेलाडी टिममा राख्नुपर्नेछ । एनपीएलको पहिलो संस्करण आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ । एनपीएलमा ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।
उद्घाटन खेल विराटनगर र जनकपुरवीच हुने छ ।