ग्रामथानका मतदाता कति ? वडा नं. १ मा बढ्यो, अरुमा घट्यो

विराटनगर २८ कात्तिक । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदाताको नामावली प्रकाशन गरेको छ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । उननिर्वाचनका लागि ग्रामथानका मतदाता २६ हजार ४४ छन् । ग्रामथानमा गत २०७९ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा २५ हजार ९४२ जना मतदाता थिए ।

स्थानीय निर्वाचन पछि गत भदौ ३१ गते सम्म (उपनिर्वाचनको मिति घोषणा अघि) १०२ जना मतदाता बढेका छन् । ग्रामथानको कुल मतदातामा १०२ जना बृद्धि भएको छ । तर, वडा नं. १ मा मात्रै मतदाता थपिएको संख्या २५२ छ ।

२ वर्षको अवधिमा वडा नं. १ मा उल्लेख्य थपिँदा अन्य वडामा भने स्थानीय तह निर्वाचनको समयको मतदाता र उपनिर्वाचनको मतदाता संख्या ऋणात्मक देखिएको छ । निर्वाचन कार्यालय श्रोतका अनुसार वडा नं. १ बाट अन्य वडाको तुलनामा धेरै संख्यामा मतदाता नामावली दर्ताका लागि आएका थिए । श्रोत भन्छ,‘ उपनिर्वाचनको मिति घोषणाको तयारी भईरहेका समयमा वडा नं. १ बाट नामावली दर्ताका लागि लर्को लागेको थियो ।’

वडा नं. १ मा बढ्यो, अरुमा घट्यो

२०७९ को स्थानीय तहको निर्वाचनका समयमा वडा नं. १ मा ३ हजार ३८ जना मतदाता थिए । अहिले ३ हजार २९० पुगेको छ । सो वडामा २५२ जना मतदाता थपिएका छन् ।
वडा नंं २ मा २ वर्षअघि ४ हजार १४२ मतदाता भएकोमा अहिले ४ हजार १३४ छ । सो वडामा ८ जना मतदाता घटेका छन् । वडा नं. ३ मा स्थानीय तह निर्वाचन ताका २ हजार ९९० थिए । अहिले २ हजार ९५३ छन् । सो वडामा ३७ जना मतदाता घटेका छन् ।

ग्रामथान ४ मा स्थानीय निर्वाचनमा ४ हजार ५ मतदाता थिए । अहिले ३ हजार ९७३ मतदाता छन् । सो वडामा ३२ जना मतदाता घटेका छन् । वडा नं. ५ मा २०७९ को स्थानीय तह निर्वाचनमा ४ हजार ८६६ मतदाता थिए । अहिले ४ हजार ८३८ मतदाता छन् । सो वडामा २८ जना मतदाता घटेका छन् ।

वडा नं. ६ मा २ वर्षअघि ३ हजार ७९७ मतदाता थिए । अहिले ३७५५ छन् । सो वडामा ४२ जना मतदाता घटेका छन् । वडा नं. ७ मा ३ हजार १०४ मतदाता थिए । अहिले ३ हजार १ मतदाता छन् । सो वडामा ३ जना मतदाता घटेका छन् ।

 मतदाता घट्नुको कारण मृत्यु र बसाईँसराईँ

प्रदेश निर्वाचन कार्यालय विराटनगरले २ वर्षको अवधिमा मतदाता संख्या बढेको जनाएको छ । स्थानीय तह निर्वाचनको समयको मतदाता संख्या र अहिलेको अवधिको वीचको मतदाता संख्याको अन्तर थोरै देखिनुमा डाटा प्रविष्टीका क्रममा प्राविधिक समस्याले गर्दा त्यस्तो देखिएको निर्वाचन कार्यालयले बताएको छ ।
२०७९ को स्थानीय तह निर्वाचन पछि प्रतिनिधिसभाको निर्वाचन अघि मोरङबाट ठुलो संख्यामा ‘डुव्लिकेशन डाटा’हरु हटाईएको निर्वाचन कार्यालयका सूचना अधिकारी तिर्थराज अधिकारीले जानकारी दिनुभयो ।

डुव्लिकेशन डाटा’हरु हटाउँदा स्थानीय तहको निर्वाचनका समयको मतदाता संख्या जि ल्ला भरिनै घट्न गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ मतदाता संख्या घट्नुमा अर्को कारण बसाईँसराईँ र मृत्यु पनि हो ।’ बसाईँसराईँर मृत्यु भएका मतदाताहरुको नाम हटाउँदा मतदाता संख्या घट्ने गर्दछ उहाँले भन्नुभयो ।