विराटनगर २८ कात्तिक । कोशी प्रदेशका १४ वटै जिल्लामा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच स्तरीय दुई दलीय बनाईने भएको छ । १४ वटै जिल्लामा एक साता भित्रमा संयन्त्र बनाईने नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले जानकारी दिनुभयो । प्रदेश संयन्त्र बाट सहजीकरण गरी एक साता भित्र जिल्ला संयन्त्र गठन गरिने उहाँले बताउनुभयो । कोशी प्रदेशको दुई दलीय संयन्त्रको कार्यलाई एउटै मर्म र गतिमा एकरुपता साथ प्रभावकारी ढंगले अगाडी बढाउने उद्देश्यले प्रदेश तहमा १४ वटै जिल्लाका जिल्ला संयन्त्रका सदस्यहरुको संयुक्त बैठक तथा छलफलको आयोजना आगामी २०८१ मङ्सिर २९ गते शनिवार विराटनगरमा गरिने कोशी प्रदेशका इन्चार्ज राईले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको कोशी प्रदेश स्तरीय दुई दलीय संयन्त्रको पहिलो बैठकका निर्णय आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै कोशी प्रदेश इन्चार्ज राईले दुई दलीय प्रदेश संयन्त्रको बैठकको अध्यक्षता पालै पालो गर्ने बताउने बताउनुभयो । उहाँका अनुसार दुई दलीय संयन्त्र गठन सम्बन्धी जारी परिपत्र अनुसार संयन्त्रलाई प्रभावकारी बनाउने प्रतिबद्दता ब्यक्त गरिएको छ ।
नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभापति तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले तोकेको एकजना प्रतिनिधि रहने व्यवस्था अन्तर्गत नेपाली कांग्रेस प्रदेश कार्यसमितिका महामन्त्री उमेश थापालाई नेपाली कांग्रेसको तर्फबाट संयन्त्र सदस्यमा थप गरिएको छ । सार्वजानिक सेवा प्रवाहलाई प्रभावकारी बनाउदै जनमुखी, सुशासनयुक्त बनाउन प्रदेश तथा स्थानीय तहको सरकारलाई प्रभावकारी रुपमा संचालन गरी समाजमा ब्याप्त सबै प्रकारका अराजकता र भ्रष्टाचारलाई अन्त्य गर्न सबै संयन्त्रहरुलाई प्रभावकारी रुपमा परिचालन गर्ने बताईएको छ ।
कोशी प्रदेशको दुई दलीय संयन्त्र र कोशी प्रदेश सरकारका मन्त्रीहरुसंग प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउनका लागि आगामी मङ्सिर १४ गते शुक्रबार बिराटनगरमा छलफलको आयोजना गरिने एमाले कोशी इन्चार्ज राईले बताउनुभयो ।
प्रदेश स्तरिय संयन्त्रमा नेकपा (एमाले) का तर्फबाट कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेकपा(एमाले) कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा रहनु भएको छ । त्यसैगरि नेपाली कांग्रेसका तर्फबाट पुर्व मुख्यमन्त्री, नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापा, कांग्रेस कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राई र उमेश थापा रहनु भएको छ ।