विराटनगर २७ कात्तिक । नेकपा एमाले मोरङले ग्रामथानमा जिल्ला स्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ । आगामी मंसिर १६ गते ग्रामथानको अध्यक्ष पदका लागि हुने निर्वाचनलाई लक्षित गरि एमाले मोरङको आयोजना तथा ग्रामथान गाउँकमिटीको व्यवस्थापनमा ग्रामथान २ को झोराहाटमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरिएको हो ।
कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले चुनाव जितेर समाजलाई बदल्न एमालेको जित आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय तहहरुमा आधुनिक विकास, प्रविधिको प्रयोग बढाउनु पर्नेमा जोड दिनुभयो । उपनिर्वाचन एमालेको मिसन ८४ का लाथि ठुलो अवसर भएको महासचिव पोखरेलको भनाई छ । जिम्मेवारीका साथ पार्टीका नेता कार्यकर्ताहरुले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।उहाँले भन्नुभयो,‘ पार्टी र मुलुकको भविश्यको सफलताको रुपमा यो चुनाब लिनु पर्छ ।’
स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले आगामी मंसिर १६ गते हुने उपचुनावमा कुनै भ्रममा नपरी चुनावको प्रचार प्रसारमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले सिंगो पार्टी शक्तिलाई व्यवस्थित र प्रभावकारी रुपमा चुनावमा परिचालन गर्न समेत उहाँले आग्रह गर्नुभयो । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री राईले एमालेले मिसन ८४ को लक्ष्य तय भइसकेको भन्दै यो लक्ष्यलाई पुरा गर्न पछिल्लो समय पार्टीले पार्टी शुद्धिकरण र सुदृढिकरणको अभियान तीव्र गतिमा अघि बढाएको बताउनुभयो ।
कोशी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले कानून विपरित काम गर्ने कसैलाई छुट नभएको बताउनु भयो । उहाँले अहिलेको शासन व्यवस्थाले कानुन विपरित कार्य गर्नेलाई कानुनको दायरामा ल्याउने काम गरेकोबताउनुभयो । उहाँले अहिलेको राजनीतिक प्रणाली सवै भन्दा राम्रो व्यवस्था भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ यसको विकल्प अरु हुन सक्दैन ।’ उहाँले नेकपा एमालेको संगठनलाई शसक्त बनाउने काममा लाग्न एमाले कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभयो ।
केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले अहिले हाम्रो ध्यान मंसिर १६ गतेको निर्वाचनमा केन्द्रीत भएको बताउनुभयो । उहाँले एमाले उम्मेदवारलाई विजयी गराउने कार्यमा लाग्न सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले निर्वाचनमा एक ढिक्का भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
केन्द्रीय सदस्य भगवती चौधरी, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, एमाले मोरङका अध्यक्ष बाबुराम कार्की लगायतले पार्टीको चुनावी अभियानबारे धारणा व्यक्त गर्नुभएको थियो । कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा मोरङका अगुवा कार्यकर्ताहरु सहभागिता रहेको थियो । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा एमालेबाट ग्रामथानको अध्यक्षमा तुलसीराम विश्वास चुनावी प्रतिष्पर्धामा रहनु भएको छ ।