मोरङका ६ स्थानीय तहमा एमाले र कांग्रेस ३–३ वटामा विजयी

विराटनगर, ४ वैशाख । मोरङका ६ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
बुधबार विहान सम्ममा एक नगरपालिका सहित ५ वटा गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।

एमालेले लेटाङ नगरपालिका, कानेपोखरी र केराबारी गाउँपालिकाको प्रमुख, उपप्रमुख दुवै पदमा विजयी हासिल गरेको छ ।
नेपाली कांग्रेसले जहदा गाउँपालिकाको प्रमुख र उपप्रमुख, मिक्लाजुङको प्रमुख र कटहरीको प्रमुख पदमा विजयी भएको छ ।
मिक्लाजुङको उपप्रमुखमा माओवादी केन्द्र र कटहरीको उपप्रमुखमा एमाले उम्मेदवार विजयी भएका छन् ।

१७ वटा स्थानीय तह रहेको मोरङमा अहिले विराटनगर महानगरपालिका सहित ११ वटा स्थानीय तहको मतगणना जारी छ ।
विराटनगरको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमाले उम्मेदवारले अग्रता कायम गरेका छन् ।