विराटनगर २५ कात्तिक । कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीला बल्लभ अधिकारीलाई दुई दिन हिरासतमै राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
मानव तस्करीको आरोपमा आज बिहान अधिकारीलाई विराटनगर घरबाटै पक्राउ गरेर हवाईजहाजमार्फत काठमाडौं लगिएको थियो । अधिकारीले कोशी प्रदेशका मुख्यमन्त्री र आफ्नो पार्टी नेकपा एमालेलाई समेत कुनै जानकारी नदिई फर्जी कागजात बनाइएका तीन जना व्यक्तिसहित जापान जानु भएको थियो । जापानबाट उहाँसहित चारै जनालाई विमानस्थलबाटै नेपाल फर्काइएको थियो । पक्राउ परेका अधिकारीले नै ‘आफू गिरोहको चंगुलमा परेर’ जापान गएको भन्दै गल्ती स्वीकार गरिसक्नु भएको छ ।
गिरोहको चलखेलका विषयमा आफू हङकङ पुगेपछि मात्र थाहा पाएको र जापान पुगेपछि नेपाल प्रहरीलाई खबर गरेको उहाँको जिकिर छ । तर जापानको अध्यागमनले प्रवेश नदिएपछि मात्रै नेपाल प्रहरीलाई यसबारे अधिकारीले जानकारी गराएको आशंका छ । आफूलाई प्रयोग गरेर मानव तस्करी भएको थाहा पाएपछि जापानबाटै फर्किएको उहाँको दाबी छ ।
विना जानकारी जापान गएको घटना बाहिर आउनसाथ अधिकारीले मन्त्री पदबाट राजीनामा दिनु भएको थियो । पार्टी जिम्मेवारीबाट पनि मुक्त गर्न माग गर्नुभएको थियो । नेकपा एमाले कोशी प्रदेश कमिटीले उहाँलाई पार्टीका कुनै पनि भूमिकामा नरहनेगरी निलम्बन गरिसकेको छ ।