विराटनगर २४ कात्तिक । नेकपा एमालेले मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई निलम्वन गरेको छ ।
पार्टीको कोशी प्रदेश कमिटीले विज्ञप्ति निकालेर अनुसन्धान गरी सत्य तथ्य पत्ता नलाग्दासम्म अधिकारीलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्वन गरेको जानकारी गराएको हो । विज्ञप्तिमा आरोपको अन्तिम निरुपण नहुँदासम्म अधिकारीलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य र पार्टीको संगठित सदस्यताबाट समेत निलम्बन गरिएको उल्लेख छ । अधिकारीलाई जापान भ्रमणसँग जोडिएर लागेको मानव तस्करीजस्तो गम्भीर आरोपका विषयमा शीघ्र छानबिन तथा अनुसन्धान गर्न पनि एमालेले सरकारसँग माग गरेको छ ।
अधिकारीले आफूलाई मानव तस्कर गिरोहले प्रयोग गरेको र प्रहरीलाई आफैंले यस बारेमा सूचना दिएर अनुसन्धान गर्न लगाएको बताएका छन् ।
यसैवीच नेकपा एमालेले कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री अधिकारीमाथि छानबिन गर्न सरकारलाई आग्रह गरेको छ ।
आज बसेको एमाले सचिवालय बैठकले उनीमाथि लागेका सबै आरोपको वस्तुनिष्ट, तथ्यपरक र गम्भीर छानबिन गर्न सरकारी निकायलाई आग्रह गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । ‘उहाँको बारेमा लागेका सबै आरोपका वस्तुनिष्ट, तथ्यपरक र गम्भीर छानबिन राज्यका निकायले गरुन, त्यो छानबिनमा पार्टीको तर्फबाट सहयोग हुनेछ’, उहाँले भन्नुभयो । उहाँलाई आज नै एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको छ ।
अधिकारीले शुक्रबार एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनस्याम खतिवडालाई आफुमाथि गंभिर छानविन गर्न माग गर्दै पत्र बुझाउनु भएको थियो ।