ताप्लेजुङको पाथीभरामा झडप हुँदा प्रहरीसहित ६ जना घाइते

विराटनगर २३ कात्तिक । ताप्लेजुङको पाथीभरामा केवलकार बनाउन दिनुपर्ने र बनाउन दिन नहुने पक्षबीच आज दिउँसो दोहोरो झडप हुँदा प्रहरीसहित ६ जना घाइते भएका छन् । दुई पक्षबीच ढुंगा हानाहान हुँदा सशस्त्र प्रहरीका इन्स्पेक्टर (सशस्त्र प्रहरी निरीक्षक)सहित ६ जना घाइते भएका हुन् ।

घाइते हुने सुरक्षाकर्मीमा सशस्त्रका इन्स्पेक्टर डिकेन्द्र ओली र नेपाल प्रहरीका सहायक हवल्दार अभिनास माझी रहेका छन् । ढुंगाले लागेर ओलीको घुँडामुनि सामान्य चोट लागेको छ । माझीको दाहिने हातमा सामान्य चोट लागेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । त्यस्तै, अन्य घाइतेहरुमा केवलकार बनाउने पक्षका र सर्वसाधारण छन् । केवलकार बनाउने पक्षका ताप्लेजुङको फुङलिङ नगरपालिका–४ का ४० वर्षीय दामोदर अधिकारी, ४५ वर्षीय चन्द्र मादेन र कुमार लिम्बू घाइते भएको प्रहरीले जनाएको छ । फक्ताङलुङ गाउँपालिका–५ का ४१ वर्षीय अर्जुन लिम्बू पनि घाइते भएका छन् । प्रहरीका अनुसार अर्जुन केवलकारसँग सम्बन्धित व्यक्ति हैनन् ।

घाइते सबैको जिल्ला अस्पताल फुङलिङमा उपचार भइरहेको छ । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङका अनुसार केवलकार बनाउन दिने र नदिने पक्षबीच दोहोरो झडप भएको हो । दोहोरो ढुंगा हानाहान भएको उहाँको भनाइ छ । उहाँका अनुसार घटनास्थल वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिइसकिएको उहाँले जानकारी दिनुभयो । झपडाका कारण ठूलोफेदी असान्त बनेको छ ।

ढुंगामुढा हुँदा केही सवारीसाधनमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । पाथीभरा मन्दिर दर्शन गर्न जानका लागि दर्शनार्थीको सहजताका लागि निर्माण गर्न लागिएको केवलकारको शिलान्यास गर्ने कार्यक्रममा अवरोध हुँदा झडप भएको प्रहरीको भनाइ छ । शिलान्यास शुक्रबार भएको छ । केवलकार निर्माण गर्न दिन नहुने पक्षले निर्माण औजारहरु लैजान अवरोध गरेका थिए । त्यसपछि मजदुरहरु प्रतिकारमा उत्रिएपछि दोहोरो झडप भएको हो । पाथीभरामा केवलकार निर्माण गर्न नहुने भन्दै लामो समयदेखि पहिचान पक्षधरहरु आन्दोलित छन् ।

पहिचान पक्षधरहरुले पाथीभरालाई मुकुम्लुङका नाममा आस्थाका साथ मान्दै आएका छन् । केवलकार निर्माण भए प्रकृति नष्ट हुने उनीहरुको दाबी छ । तर, केवलकार निर्माण पक्षधरले भने तीर्थयात्रीको सहजताका लागि निर्माण गर्न लागिएको जनाएको छ ।