विराटनगर २१ कात्तिक । अजरबैजानको राजधानी बाकुमा हुने संयुक्त राष्ट्रसंघीय प्रारुप महासन्धीको पक्ष राष्ट्रहरुको बैठक (कोप २९) मा पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र सचिव विशाल घिमिरेले सहभागिता जनाउने भएका छन् ।
कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री र सचिवलाई कोप २९ मा सहभागी गराउने निर्णय गरेको छ । आगामी नोभेम्वर ११ देखि शुरु हुने कोप २९ मा नेपालको नेतृत्व गर्दै राष्ट्रपति रामचन्द्र पौडेल आईतबार अजरवैजान जाँदै हुनुहुन्छ ।
मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईलाई दिएको छ । सरकारको प्रवक्ता समेत रहनु भएका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत नगरी जापान गएका कारण विवादमा परेपछि आज पदबाट राजीनामा दिनु भएको थियो । प्रवक्ताको जिम्मेवारीमा रहेका अधिकारीको राजीनामा पछि सरकारले राईलाई सो जिम्मेवारी दिएको हो ।
बैठकले संघीयता कार्यान्वयन तथा प्रदेश कानून निर्माण कार्यदलको समयावधि थप गर्ने निर्णय गरेको छ । त्यस्तै खोरेत रोग नियन्त्रण आयोजना सञ्चालन सम्बन्धि कार्यविधि २०८१ स्वीकृत गर्ने, र १० औँ राष्ट्रिय खेलकुदको तयारी तथा व्यवस्थापनका लागि थप ९ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ ।