विराटनगर, २ जेठ । विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेले अग्रता कायमै राखेका छन् ।
गठबन्धनबाट मेयरको उम्मेदवार बनेका कांग्रेसका नागेश कोइराला ५६९३ मतका साथ अगाडि हुनुहुन्छ । एमालेका मेयर उम्मेदवार सागर थापा ४०८३ मतका साथ कोइरालालाई पछ्याइरनु भएको छ ।
मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले १९७४ र राप्रपाका प्रल्हाद साहले १०१५ मत पाउनु भएको छ । उपमेयरमा एमाले उम्मेदवार शिल्पा निराला कार्कीले ४६८७ मतका साथ अग्रता कायम राख्नु भएको छ । गठबन्धनबाट उपमेयरको उम्मेदवार बन्नु भएका जसपाका अमरेन्द्र यादवले ३३६३ मत मात्रै ल्याउनु भएको छ । उपमेयरकी स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १०७८ र राप्रपाकी विन्दाकुमारी लुइँटेल (आचार्य)ले १२२४ मत प्राप्त गर्नु भएको छ ।
विराटनगरमा अहिले ९ ठाउँमा मतगणना जारी छ । यसअघि गणनास्थल ६ वटा थियो । आज दिउँसोबाट ३ वटा थप गरेर गणनास्थल ९ पुर्याइएको हो । मतगणना आदर्श विद्यालयमा भइरहेको छ ।