विराटनगर १६ कात्तिक । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा महत्वपूर्ण तीनवटा कार्यक्रम गर्ने योजना अनुसार तयारीलाई तीव्र बनाईरहेको छ । प्रदेश सरकारले पर्यटन वर्ष, लगानी सम्मेलन र चिया सम्मेलनको तयारी तीव्ररुपमा अघि बढेको जनाएको हो ।
तीनवटै कार्यक्रमको प्रदेश सरकारले कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीनवटै कार्यक्रमको क्यालेन्डर बन्ने क्रममा रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ तीनवटै कार्यक्रमको क्यालेन्डर बनाउँने काम भईरहेको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि कार्यतालिका सार्वजनिक गर्छौ ।’ तिहारको अवसरमा आज विहान मुख्यमन्त्री निवास पुगेको पत्रकारहरुको देउसी कार्यक्रममा मुख्यमन्त्री कार्कीले सो जानकारी दिनुभयो । उहाँले तीनवटै कार्यक्रमलाई भव्य बनाउने प्रदेश सरकारको योजना भएकाले प्रचारप्रसारको काममा सहयोग गर्न पत्रकारहरुसमक्ष आग्रह गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले भन्नुभयो,‘ प्रदेश सरकारले घोषणा गरेको पर्यटकीय क्षेत्रहरुको विविध पक्षहरुबारे सञ्चारमाध्यममा ल्याईदिनु होला ।’ कोशी प्रदेशको पर्यटन क्षेत्र, होटल, होमस्टे लगायतबारे सञ्चारमाध्यमहरुले प्रकाशन÷प्रसारण गरेर सहयोग गर्न मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभयो । कार्यतालिका तयारीपछि भारतीय पर्यटकहरुलाई लक्षित गरि झापाको काकड्भिट्टा र विराटनगर रानी क्षेत्रमा पर्यटकीय क्षेत्रका सम्पूर्ण पक्षहरुसहितको जानकारी दिनेगरि सूचना केन्द्र स्थापना गरिने उहाँले बताउनुभयो । प्रदेश सरकारले अघि सारेको पर्यटन वर्ष, लगानी र चिया सम्मेलन प्रदेशकै गौरवको विषय भएको उहाँले बताउनुभयो ।
तीनवटै कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने उहाँको भनाई छ । प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘पर्यटन वर्ष’ का रुपमा मनाउने बताएको छ । सेप्टेम्बर २७ अर्थात विश्व पर्यटन दिवसको अवसरमा गत असोज ११ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गर्नुभएको थियो । ‘रमणीय कोशी’ भन्ने नाराका साथ आगामी वर्ष २०८२ लाई कोशी पर्यटन वर्ष घोषणा गरिएको छ । पर्यटन वर्षका लागि सरकारले ८२ का लागि ८२ पर्यटकीय गन्तव्यको सूची पनि तयार गरेको छ । प्रदेश सरकारले माघ महिनामा पहिलो लगानी सम्मेलन गर्दै छ ।
प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा औधोगिक वातावरण बनेको सन्देश दिन माघ ११, १२ र १३ गते लगानी सम्मेलन गर्ने भएको हो । प्रदेश लगानी प्राधिकरणले सम्मेलनका लागि समन्वय, सहजीकरण र लगानीको क्षेत्रहरू तय गर्ने मुख्यमन्त्री कार्कीले बताउनुभयो । प्रदेश सरकारले आगामी पुसमा अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजनाको तयारी गरेको छ ।