यु– १९ राष्ट्रिय क्रिकेट : कोशी प्रदेशको पहिलो जित

विराटनगर १६ कात्तिक । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पहिलो जित निकालेको छ । मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा कोशीले कर्णाली प्रदेशलाई १ सय १८ रनको विशाल अन्तरले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित ५० ओभरको खेलमा ४८ दशमलव ३ बलमा सवै विकेट गु्माई २ सय ३ रन बनायो । कोशीका प्लेयर अफ द म्याच सोनु अन्सारीले ८९ रन बनाउँदा इस्टन रिजालले २३ रन र आशिष मगरले २१ रन बनाए । कर्णालीका अरविन्द घर्तीले सर्वाधिक ४ विकेट लिए । २ सय ४ रनको विजयी लक्ष्य पाएको कर्णालीले २५ दशमलव १ बलमा सबै विकेट गुमाउँदै ८५ रन सिमित भयो ।

कोशीले खेलेको ४ खेलमा १ खेलमा जित र ३ खेलमा पराजित हुँदै २ अंकका साथ छैठौ स्थान रहेको छ भने कर्णालीले खेलेको ३ खेलमा जितविहिन हुँदै पुछारमा रहेको छ । प्रतियोगिता अन्तर्गत बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सूदुरपश्चिमले मधेश प्रदेशलाई ११ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको सुदुरले निर्धारित ५० ओभरको खेलमा ४२ ओभरमा सवै विकेट गुमाई १ सय १९ रनको झिनो योगफल बनायो ।

१ सय २० रनको झिनो लक्ष्य पाएको मधेशले ४३ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ८ रनमा सिमित हुन पुग्यो । मधेशका मयन यादवले सर्वाधिक ४७ रनको योगदान दिए । सुदुरले खेलेको ४ खेलमा ३ मा जित हात पार्दै ६ अंकका साथ दोस्रो स्थानमा यथावत रहेको छ । मधेशले ४ खेलमा २ मा जित र २ मा पराजित चौथो स्थानमा झरेको छ ।

शनिबारको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा कोशी र वागमती प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा लुम्विनी र गण्डकी प्रदेशबीच खेल हुनेछ ।