विराटनगर १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा असामाजिक क्रियाकलापहरु फस्टाउन नदिइने बताउनु भएको छ ।
मंगलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न शक्तिहरु नेपाली मनलाई विभाजित गर्न खोजेको बताउनुभयो ।
उहाँले साम्प्रदायिक विद्वेष र अराजक क्रियाकलापहरुमार्फत नेपाली मनलाई विभाजित गर्न कोशिस भएको भन्दै त्यसलाई सफल हुन नदिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बल नेपालको कानुन सुधारका लागि सरकार दत्तचित्त भएर लागेको पनि बताउनुभयो । सो कानुन संसदको आगामी अधिवेशनमा पारित गर्ने तयारी रहेको उहाँको भनाइ छ ।
नयाँ कानुनमार्फत सशस्त्र प्रहरी बलको ३० वर्षे सेवा अवधि हटाउने पनि उहाँले बताउनुभयो ।