एमालेलाई दानको जग्गामा भवन निर्माण नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

विराटनगर १२ कात्तिक । सर्वाेच्च अदालतले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा लिएको जग्गामा पार्टी कार्यालय भवन निर्माण तत्काल अघि नबढाउन आदेश दिएको  छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले यो विवादमा रिट निवेदक ज्ञानबस्नेतसमेत र विपक्षी नेकपा एमाले, व्यवसायी मीनबहादुर गुरुङलाई छलफलमा बोलाएको छ । अन्तरिम आदेशका लागि हुने उक्त छलफलअघि पार्टी कार्यालय भवन निर्माण यथास्थितिमा राख्ने अल्पकालीन अन्तरिम आदेश जारी भएको हो ।

सर्वाेच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले आदेशको लिखित रुप प्राप्त भइनसकेको बताउनुभयो । सर्वाेच्च अदालतले जग्गा दाता मीनबहादुर गुरुङ र लिने एमालेलाई त्यसको कारण देखाउन माग गरेको छ । गत दशैंको फुलपातीको दिन कलंकीमा एमाले पार्टी कार्यालयको शिलान्यास भएको थियो, त्यहाँ उपस्थित व्यवसायी मिनबहादुर गुरुङले आफूले एमालेलाई जग्गा दान दिएको र एक वर्षभित्र भवन पनि बनाइदिने घोषणा गर्नुभएको थियो ।

यो घटना सार्वजनिक भएपछि एमालेको चर्काे आलोचना भएको थियो । अधिवक्ता ज्ञानबहादुर बस्नेत समेत ३ जनाले निर्णय खारेजीको माग राख्दै सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो ।