निर्वाचन सुरक्षामा कमजोरी नगर्न एसपी कोइरालाको निर्देशन

विराटनगर, २७ वैशाख । स्थानीय तहको निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी नगर्न मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले प्रहरीलाई निर्देशन दिनु भएको छ ।

मोरङका विभिन्न प्रहरी युनिटको निरीक्षणका क्रममा आज एसपी कोइरालाले निर्वाचन लक्षित सुरक्षा व्यवस्था चुस्तदुरुस्त र मजवुत बनाउन निर्देशन दिनु भएको हो । ‘निर्वाचन सुरक्षाको मुख्य भूमिकामा नेपाल प्रहरी रहेको छ । प्रहरीले मतदानस्थल र मतदान केन्द्रको सुरक्षा गर्नुपर्छ,’ उहाँले भने, ‘आफ्नो जिम्मेवारी पूरा गरेर निर्वाचनलाई भयरहित, सुरक्षित र निष्पक्ष बनाउन प्रहरीले महत्वपूर्ण भूमिका खेल्नु पर्छ ।

सुरक्षाका अन्य निकाय र सबै पक्षसँग समन्यव गरेर शान्ति सुरक्षाको अवस्था मजवुत बनाउनु पर्छ ।’ निर्वाचन आचारसंहिता उल्लंघनका घटना रोक्न, गस्ती र पेट्रोलिङ तीव्र बनाएर चेकजाँच बढाउन, सवारीसाधन र शङ्कास्पद व्यक्तिमाथि निगरानी गर्न, चुनाव विरोधी समूहको पहिचान गरेर नियन्त्रणमा लिन, निर्वाचनमा असर पुर्याउनसक्ने सम्भावित खतरालाई रोक्न प्रहरीको भूमिका विशेष रहने एसपी कोइरालाको भनाइ छ । उहाँले मतदाता, उम्मेदवार र निर्वाचनमा खटिने कर्मचारीको सुरक्षामा विशेष चासो दिनुपर्नेमा जोड दिनु भयो । निर्वाचनलाई शान्तिपूर्ण हिसाबले सम्पन्न गर्न मतदानस्थलको सुरक्षा अवस्था मजवुत बनाउन पनि उहाँले निर्देशन दिनु भएको छ । एसपी कोइरालाले प्रहरीले आफ्नो आचरण र व्यवहारलाई सुधार गर्दै नियमित कामलाई प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिनु भयो ।

‘निर्वाचनका दिन मतदानस्थलमा कुनै पनि अप्रिय घटना हुन दिन हुँदैन । यदि हुने अवस्था आयो भने आवश्यक बल प्रयोग गरेर नियन्त्रणमा लिनुपर्छ,’ कोइरालाले भन्नु भयो, ‘मतदातालाई ढुक्क र सुरक्षितसाथ मतदान गर्ने वातावरण बनाउनु पर्छ । प्रहरीका तर्फबाट कुनै पनि कमजोरी नहुने गरी काम गर्नु पर्छ ।’ निर्वाचनलाई लक्षित गरेर आफ्नो एरियामा हुनसक्ने अवरोधलाई पनि अन्य निकायसँग समन्वय गरेर ‘क्लियर’ बनाउन उहाँको निर्देशन छ ।

एसपी कोइरालाले आज बेलबारी, पथरी, उर्लाबारी लगायतका विभिन्न प्रहरी युनिटनको निरीक्षण गर्नु भएको छ । त्यस क्रममा उहाँले शान्ति सुरक्षाको अवस्था मजवुत बनाएर निर्वाचनलाई शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्नका लागि कुनै पनि सम्झौता नगर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनु भएको हो ।