कोशी प्रदेशबाट ४४ जनाको उद्धार

विराटनगर २ कात्तिक । कोशी प्रदेशका विभिन्न जिल्लाबाट ४ दिनको अवधिमा ४४ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । सडकमा कष्टकर जीवन बिताइरहेकालाई मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनले संयुक्त रूपमा उद्धार गरिरहेको हो ।

आश्रम र फाउण्डेसनले ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस सडकपेटी’मा भन्ने मूल नाराका साथ मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा आयोजना गरेका छन् । मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीका अनुसार ३२ दिने उद्धार यात्राअन्तर्गत हालसम्म ४४ जना सडकआश्रित मानवको उद्धार गरिएको हो ।

बिहीबार मात्रै उदयपुरका विभिन्न स्थानबाट १६ जनाको उद्धार गरिएको उहाँले बताउनुभयो । उदयपुरको बेलका नगरपालिकाबाट ६ जना, चौदन्डीगढी नगरपालिकाबाट ७ जना, त्रियुगा नगरपालिकाबाट १ जना, कटारी नगरपालिकाबाट २ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामा ८ जना पुरुष र ८ जना महिला छन् ।

बेवारिसे अवस्थामा सडकमा रहेका उनीहरुलाई मावनसेवा आश्रम विराटनगरको जिम्मा लगाइएको छ । उद्धार टोली विभिन्न ठाउँमा सडक आश्रित मानवहरुको उद्धारमा सक्रिय रहेको अधिकारीले बताउनुभयो । उद्धार अभियान गत असोज २८ गते झापाको मेचीनगर नगरपालिकाबाट सुरु भएको हो ।

४ दिनको अवधिमा कोशी प्रदेशबाट ३५ पुरुष र ९ महिला गरेर ४४ जनाको उद्धार गरिसकिएको अधिकारीले बताए । यात्राको पहिलो दिन मेचीनगरबाट ४ जना, बिर्तामोड नगरपालिकाबाट २, कन्काई नगरपालिकाबाट २, शिवसताक्षी नगरपालिकाबाट २, दमक नगरपालिकाबाट २ गरेर झापाबाट १२ जनाको उद्धार गरिएको थियो । यात्राको दोस्रो दिन बेलबारी नगरपालिकाबाट २, ग्रामथान गाउँपालिकाबाट १ र विराटनगर महानगरपालिकाबाट १ गरेर मोरङबाट ४ जनाको उद्धार गरिएको थियो ।

तेस्रो दिन दुहबी नगरपालिकाबाट १ जना, इटहरी उपमहानगरपालिकाबाट ७ जना र धरान उपमहानगरपालिकाबाट ४ जना गरेर सुनसरीबाट १२ जनाको उद्धार गरिएको थियो ।