विराटगगर २२ असोज । विराटनगर महानगरपालिकाले गठन गरेको ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’का पदाधिकारी र सदस्यहरूको सपथग्रहण सम्पन्न भएको छ । भाषा, साहित्य, कला र संस्कृतिको विकास र सम्वद्र्धन गर्ने उद्देश्यले गत साउन ३१ गतेको कार्यपालिका बैठकले प्रतिष्ठान गठन गर्ने निर्णय गरेको थियो ।
महानगरले अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा प्रतिष्ठान गठन गरेको थियो । मंगलबार महानगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले अध्यक्ष पोखरेललाई सपथ गराउनुभएको थियो । त्यसलगत्तै अन्य पदाधिकारी, कार्यसमिति सदस्य र परिषद सदस्यहरूलाई अध्यक्ष पोखरेलले सपथ गराउनुभएको थियो । त्यस्तै मेयर कोइरालाले अध्यक्षसहित परिषद सदस्यहरूलाई मनोनयपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगर औद्योगिक र राजनैतिक नगरी मात्रै नभएर भाषा, कला, साहित्य र संस्कृतिको नगरी पनि भएको बताउनुभयो । विराटनगरमा १२२ भन्दा बढी विभिन्न जातजातिको बसोबास रहेको उल्लेख गर्दै उहाँले हरेकका आफ्नै भाषा र मौलिक संस्कृति रहेको चर्चा गर्नुभयो । उहाँले महानगरले भौतिक विकास सँगसँगै मानवीय विकासमा पनि ध्यान दिएको प्रस्ट पार्नुभयो । ‘महानगरपालिकाले सडक, भवनलगायत भौतिक संरचनाको विकाससँगै भाषा, साहित्य, कला र संंस्कृतिको विकासलाई पनि ध्यान दिएको छ,’ कोइरालाले भन्नुभयो, ‘सबै क्षेत्रको विकास गर्न सकिए मात्रै त्यो विराटनगरको दिगो विकास हुन्छ ।’
मेयर कोइरालाले विराटनगरको पहिचानलाई थप उचाइमा पुर्याउने गरी काम गर्न प्रतिष्ठानका पदाधिकारी र सदस्यहरूलाई आग्रह गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले भाषा, साहित्य र कलाको विराटनगर उर्बर भूमि भएको चर्चा गर्नुभयो । उहाँले प्रतिष्ठान गठनपछि भाषा, साहित्य र संस्कृतिको विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो । सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले ऐन बनाएरै प्रज्ञा प्रतिष्ठान गठन गरेको जानकारी दिनुभयो ।
प्रतिष्ठानले लोप हुन लागेको भाषा, साहित्य र संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलले विराटनगरले थुप्रै मूर्धन्य साहित्यकार र कलाकार जन्माएको बताउनुभयो । उहाँले विश्वेश्वरप्रसाद कोइराला, महानन्द सापकोटा, देवकुमारी थापा, बालकृष्ण पोखरेल, कृष्णभूषण बल, चर्तुभूज आशावादी, माधव सापकोटालगायत दर्जनौं मूर्धन्य साहित्यकार जन्माएको बताउँदै विराटनगरको शाखलाई उच्च राख्ने गरी कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भाषा, साहित्य, कला र संस्कृतिको विकास बिना देशको विकास नहुने जिकिर गर्नुभयो । ‘कुनै पनि देश समृद्धि हुन त्यस देशको भाषा, साहित्य र कलाको विकास हुनुपर्दछ,’ उहाँले भन्नुभयो, ‘भाषा, साहित्य देशको मुटु हो ।’
पोखरेलको अध्यक्षतामा गठिन प्रज्ञा प्रतिष्ठानको उपाध्यक्षमा सरला चापागाईं, सदस्यसचिवमा दिङ्लाली कान्छो (दिनेशराज सुवेदी), सदस्यहरूमा माया पौडेल (नृत्य÷गीत–संगीत), अनुराधा थापा (ललितकला), प्रा. भूषण ढुंगेल (भाषा), मधु पोखरेल (साहित्य), भैरव क्षेत्री (नाट्य÷रंगमञ्च) र शिवनारायण पण्डित सिङ्गल (मातृभाषा) रहनुभएको छ । त्यस्तै प्रा.डा. हरिहर भण्डारी, लक्ष्मण नेवटिया, गोकुल अधिकारी, रामा मण्डल, हरि कट्टेल, भेषराज पोखरेल, रामबाबु दहाल, केशव रायमाझी, डा. विमला श्रेष्ठ, सविता गौतम दाहाल, शुभलक्ष्मी लम्साल र इन्द्र परियार परिषद् सदस्य रहनु भएको छ । सपथग्रहणपछि उहाँहरु सबैलाई मेयर कोइराला, प्रमुख प्रशासकीय अधिकृत पराजुली र सामाजिक विकास समितिका संयोजक बस्नेतले अविर, टीका, माला र खादा लगाएर स्वागतसमेत गर्नुभएको थियो ।