विराटनगर १९ असाेज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा हालै आएको अविरल बर्षाका कारण वाढी पहिरोबाट भएको सडक, पुल लगायत क्षतिलाई दशैं अगाडि मर्मतसम्भार गरिने बताउनु भएको छ।
मुख्यमन्त्री कार्कीलाई नेकपा एमाले प्रदेश समितिका इन्चार्ज एवं पूर्व मुख्यमन्त्री शेरधन राई, प्रदेश समिति अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीद्वारा आज विराटनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा ध्यानाकर्षण पत्र वुझ्दै उक्त कुरा बताउनु भएको हो । उहाँले असोज १३ गते बसेको मन्त्रिपरिषदको वैठकले वाढी पहिरोबाट मृतकहरुहरुप्रति हार्दिक श्रद्धान्जली, वेपत्ताहरुको उद्धार ,खोजी, घाइेतको निशुल्क उपचार र राहत उपलव्ध गराउने निर्णय भएको जानकारी दिनु भयो ।
मुख्यमन्त्री कार्कीले वाढी पहिरोबाट भएको क्षतिहरुको पूर्ण विवरण आएपछि सम्वन्धित मन्त्रालयहरुले दशैं अगाडि गर्न सक्ने मर्मत सम्भार कार्य तत्काल गर्न निर्देशन दिएको बताउनु भयो ।
उहाँले प्रदेश सरकारप्रति जनताको विश्वास एवं अनुभूति जागृत गराउन सडक , पुल लगायत निर्माण कार्य दु्रत रुपमा गर्न सम्वन्धित मन्त्रालय एवं निकायलाई निर्देशन दिएको जानकारी दिनु भयो ।
मुख्यमन्त्री कार्कीले नेपाल सरकार , विपद् प्राधिकरण र प्रदेश मन्त्रालयको सहकार्यमा आगामी १० दिन भित्र गर्न सक्ने कार्यका लागि प्रमुख सचिवलाई निर्देशन दिएको बताउनु भयो ।
सो अवसरमा प्रदेश इन्चार्ज एवं पूर्व मुख्यमन्त्री राईले यस विपद्को घडीमा मृतकलाई तत्काल राहत,घाइतेहरुको निःशुल्क उपचार, वेपत्ताहरुको खोजी र विस्ताथिपहरुको पुर्नस्थापना, बालीनालीको क्षति पूर्ति उपलव्ध गराउन आग्रह गर्नु भयो । उहाँले प्रदेश सरकारले विशेष विपद प्राधिकरण गठन गरी उद्धार ,राहत तथा पुनस्र्थापना कार्य शुरु गर्न ध्यानाकर्षण गराउनु भयो ।
नेकपा एमाले प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले असोज ११ र १२ गतेको बर्षाका कारण भएको ठूलो जनधनको क्षति एवं विकास निर्माण संरचना एवं सञ्चारका माध्यामको क्षति पुगेको चर्चा गर्दै सरकारलाई राहत कार्यमा सरकारलाई सघाउन ध्यानाकर्षण गर्न लागिएको बताउनु भयो ।
सो अवसरमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी, आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना,भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राई, खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्की, मुख्यमन्त्री तथा मन्त्रिपरिष्की राज्यमन्त्री सिर्जना राई, मन्त्रालयका सचिवहरु नेकपा एमाले विभिन्न जिल्लाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।