दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा गरी मनाइँदै

विराटनगर १९ असोज । दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा गरी मनाइँदैछ । चन्द्रघण्टादेवी दुर्गा भवानीको तेस्रो स्वरुपको रूपमा पुजिन्छ ।

चन्द्रघण्टा देवीलाई माता पार्वतीको सौन्दर्यका रुपमा पनि बुझिन्छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्काली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरू तथा विराटनगरको काली मन्दिरमा पुजापाठ हुने गरेको छ ।