विराटनगर १६ असोज । शुक्रबार र शनिबारको भारी वर्षाका कारण देशका धेरैजसो स्थानमा आएको बाढीपहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ । अहिलेसम्म बाढी, पहिरो र डुबानबाट २ सय २८ जनाको मृत्यु भएको पुष्टि सरकारले गरेको हो ।
त्यस्तै २५ जना बेपत्ता छन् भने १ सय ५८ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ । हालसम्म खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड, सडक संरचनामा २ अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्ब र सिँचाइ पूर्वाधारमा १ अर्बको क्षति भएको सरकारले जनाएको छ । यस्तै, ३७ वटा राजमार्ग अवरुद्ध भएकामा ९ वटामा अवरोध हटाइ सञ्चालनमा ल्याइएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत नागढुंगाको झ्याप्ले खोलाको पहिरो पन्छाएपछि यातायात दुईतर्फी सञ्चालनमा आएको छ । यस्तै, सञ्चालनमा रहेकामध्ये ६ सय ३७ दशमलब नौ–तीन मेगावाट जडित विद्युत क्षमताको १६ वटा जलविद्युत आयोजना, ११ सय ३९ दशमलब एक नौ मेगावाट जडित विद्युत क्षमताका १८ वटा निर्माणाधीन जलविद्युत आयोजना र ५ वटा प्रमुख टावरहरुमा क्षति पुगेको छ । दुरसञ्चार कम्पनीका ३ सय १२ साइटमा क्षति पुगेको छ भने कृषि तथा पशुपन्छीतर्फ ६ अर्बको क्षति भएको अनुमान गरिएको छ ।
खोज तथा उद्धार कार्यका लागि ३० हजार ७ सय ३१ सुरक्षाकर्मी परिचालन गरिएको तथ्यांक पनि सरकारले सार्वजनिक गरेको छ । यस्तै, बाढीपहिरो तथा डुबानका कारण मृत्यु एवं बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम वितरण थालिएको र खोज तथा उद्धार कार्य दुई दिनभित्र सम्पन्न गरिने सरकारले जनाएको छ ।