भोलिदेखि विराट सडक महोत्सव, तयारी अन्तिम चरणमा

विराटनगर १६ असोज । विराटनगरमा भोलिदेखि थकाली चौथो सडक महोत्सव शुरु हुँदैछ । मन्जिना मुभिज क्रियसन प्रा.लि विराटनगरको आयोजनामा विराटनगर हिमालय रोडमा हुने महोत्सव असोज असोज २३ गतेसम्म सञ्चालन हुने छ ।

आयोजकले आज पत्रकार सम्मेलन गरि आयोजनाको तयारी अन्तिम चरणमा रहेको बताएको छ । मन्जिना मुभिजले विगत ४ वर्षदेखि सडक महोत्सव गर्दै आएको जनाएको छ । ऐतिहासिक तथा सांस्कृतिक नगरी विराटनगरको ऐतिहासिकता तथा सांस्कृतिक सभ्यतालाई जीवन्त राख्दै नयाँ पीढीमा समेत पुस्तान्तरण गर्ने उद्धेश्यले सो महोत्सव आयोजना गर्न लागेको आयोजक मन्जिना मुभिज क्रियसन प्रा.लि.का अध्यक्ष जतिन ताम्रकारले बताउनुभयो ।

महोत्सवमा ३० वटा विभिन्न जातिका खानाका स्टल रहने र आफ्नै संस्कृति, परम्पराको प्रबद्र्धन गर्दै दैनिक सांगितिक कार्यक्रम र विभिन्न जातिका खानाका परिकार विराट सडक महोत्सवका मुख्य आकर्षण रहने आयोजकले बताएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष ताम्राकारले भन्नुभयो,‘ स्टलहरु दशैं भाइब्स क्यानोपी र झिलिमिलि बत्तिले सजिने छन् ।’ महोत्सवमा हरेक दिन सांस्कृतिक कार्यक्रम रहने उहाँले बताउनुभयो । सडक महोत्सव स्थलका विषयमा कुनै समस्या नभएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । अध्यक्ष ताम्राकारका अनुसार स्थानीय व्यापारी र आयोजकवीच विराटनगर महानगरपालिकामा सहमति भएको छ ।
महोत्सवको विहीबार दिउँसो ४ वजे उद्घाटन गरिने बताईएको छ ।