विराटनगर १३ असोज । कोशी प्रदेशका विभिन्न स्थानमा गएको बाढी पहिरो र डुवानका विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङलाई जानकारी गराउनुभएको छ ।
वर्षाका कारण भएको विपद सम्बन्धी घटनाहरु र विपद ब्यवस्थापनका सम्बन्धमा कोशी प्रदेश सरकारले गरेका पहलकद्मीका सन्दर्भमा र कोशी प्रदेश सरकार मन्त्रीपरिषद बाट सम्पादन भएका काम कारवाहीका सम्बन्धमा आज कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई जानकारी गराउनु भएको हो । मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई समय समयमा प्रदेश सरकारका गतिबिधि जानकारी गराउनु पर्ने संबैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री कार्कीले आज प्रदेश प्रमुख खापुङलाई जानकारी गराउनुभएको हो ।
मुख्यमन्त्री कार्कीले हिजो कोशी ब्यारेज तथा बराह क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको थियो । सोही क्रममा कोशी प्रदेशमा राहत, पुनस्थापना र उद्धारका लागि तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्र्देशन दिनुभएको थियो ।
उद्धार, राहत र पुनस्थापनाका लागि प्रदेश सरकारले संघीय सरकार र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढिरहेको मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई जानकारी गराउनुभएको छ ।