कोशी प्रदेशमा बाढी र पहिरोमा परि ८ जनाको मृत्यु, ९ जना बेपत्ता

विराटनगर १२ असोज । कोशी प्रदेशमा बाढी र पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । ९ जना बेपत्ता भएका छन् । पाँचथरमा ३, धनकुटामा २, सोलुखुम्वुमा २ र इलाममा १ जनाको बाढी र पहिरोमा पुरिएर मृत्यु भएको छ ।

पाँचथरमा पहिरोमा परी ४ जना बेपत्ता भएका छन् । खोलाले बगाउँदा झापा मोरङ र इलाममा ५ जना बेपत्ता भएका छन् । पाँचथरको फिदिम नगरपालिका–४ चिसापानीमा पहिरोले घर पुरिदा २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको छ । प्रहरीका अनुसार फिदिम–१२ घर भएका आमा–छोरी चिसापानीमा डेरा बस्दै आएका थिए ।

पाँचथरको फिदिम नगरपालिका– १ साँगेबोटेमा पहिरो घर पुरिदा एक जनाको मृत्यु भएको छ । पहिरोमा परी फिदिम नगरपालिका– १ कात्तिके घर भइ फुरुङ्गा हाइड्रो पावरमा काम गर्ने ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको छ । फिदिम १ बस्ने ५० वर्षीय कृष्ण दास, ४० वर्षीया कमला दास, ५५ पर्षीय धनकुमार तुम्बापो, २१ वर्षीय सरस्वता तुम्बापो बेपत्ता भएका छन् । धनकुटाको पाख्रीबास नगरपालिका– ५ आज बिहानको करिब ३ बजे खसेको पहिरोले घर पुरिदा स्थानीय ५० वर्षीया रामकुमारी तामाङ र ३२ वर्षीया आशा तामाङको मृत्यु भएको हो । उनीहरु आमा छोरी रहेको प्रहरीले बताएको छ । आज दिउँसो पहिरोमा एक घर पुरिँदा सोलुखुम्बुको टाप्टिङमा २ जनाको मृत्यू भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङको चैलुङ गाउँमा स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिँदा उक्त घरमा किचिएर उनका छोरी र बुहारीको मृत्यू भएको वडा अध्यक्ष होमबहादुर मगरले बताउनुभयो । पहिरोमा परि टेकबहादुरकी ३० बर्षीया छोरी कविता मगर र ४१ बर्षिया बुहारी रुपु मगरको मृत्यु भएको वडा अध्यक्ष मगरले बताउनुभयो । इलामको माई नगरपालिकका मैत्तबहादुर लिम्बुलाई माई खोलाले बगाएर घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाढीले बगाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । शुक्रबार साँझ कचनकवल गाउँपालिका–१ का पञ्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिका जमुवा खोलामा बेपत्ता भएकी छन् । गौरीगञ्ज गाउँपालिका–३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट गौरीगञ्ज–२ का ५० वर्षीय केमालाल ताजपुरिया बेपत्ता भएको कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले जानकारी दिनुभयो ।