कोशी प्रदेश सरकारले जनतासँग कोशी प्रदेश सरकार सञ्चालन गर्ने

विराटनगर ८ असोज । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्कीको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको सयोजकत्वमा राजनैतिक तथा प्रशासनिक समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री लिला बल्लभ अधिकारी संयोजकत्वमा कानून, न्याय तथा प्रदेश मामिला समिति र भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति मन्त्रिपरिषदस्तरी समिति गठन गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले जानकारी दिनु भयो । यसैगरी प्रदेश सिंचाई नियमावली, २०८१ लाई कानून,न्याय तथा प्रदेश मामिला समितिमा पेश गर्ने निर्णय गरिएको छ ।

कोशी प्रदेश नवीकरणीय उर्जा नीति, २०८१ स्वीकृत गर्ने ,एशियाली विकास बैंकको ऋण सहयोगमा र साउदी फण्ड फर डेभलेप्मेन्टको सह लगानीबाट कार्यान्वयन हुने अत्याधुनिक सिंचाई प्रोजेक्टका लागि बार्ता र सहमती गर्न स्वीकृति दिने,जलवायु अनुकुलित बृहत खानेपानी आयोजनामा कार्यरत ३३ जना कर्मचारीको आर्थिक वर्ष २०८१/८२ को अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ ।

यसैगरी अर्को निर्णयमा नेपाल स्वास्थ्य सेवा, एघारौं तहका निर्देशक डा वीरेन्द्रकमार मण्डललाई प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रबाट जिल्ला अस्पताल उदयपुरमा कामकाज, प्रदेश स्वास्थ्य सेवा, दशौं तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतलाई प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाबाट प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रमा सरुवा, प्रदेश स्वास्थ्य सेवा दशौं तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा सुरेश मेहतालाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटा सरुवा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री अधिकारीले बताउनु भयो ।