विराटनगर ७ असोज । मदन भण्डारी स्मृति प्रतिष्ठानले आज २३ औं बार्षिक साधारणसभा गर्दै छ । मोरङ उर्लाबारी ३ मंगलबारेमा रहेको प्रतिष्ठानको मुख्य कार्यालयमा विहान ११ वजे २३ औं बार्षिक साधारणसभा हुन लागेको हो ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा साधारणसभा हुने प्रतिष्ठानका सचिव अग्निप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
साधारणसभामा आर्थिक वर्ष २०८०–०८१ को प्रगति प्रतिवेदन, २०८१–०८२ को बार्षिक कार्यक्रमको प्रस्तुती, आ.व. २०८०–०८१ को आर्थिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन, आ.व. २०८१–०८२ को बजेट प्रस्तुती, आ.व.२०८०–८१ को लेखा तथा अनुगमन समितिको प्रतिवेदन प्रस्तुती लगायतका प्रस्तावहरु पेश हुने सचिव भट्टराईले बताउनुभयो ।
मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल मदनकुमार भण्डारीको सम्झनामा सन् १९९३ मा स्थापना भएको सामुदायिक संस्था हो । औपचारिक–अनौपचारिक, प्राविधिक शिक्षा र सीपमा आधारित व्यावसायिक तालिम र अधिकारमा आधारित सामुदायिक विकास मार्फत सेवा प्रदान गरी समुदायका विपन्न वर्गलाई रोजगारीको अधिकतम अवसर प्रदान गरी नेता भण्डारीको सपना साकार पार्न संस्था प्रतिबद्ध छ ।