विराटनगर, ७ असोज । विपद जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने जानकारी दिन मोरङको कटहरी गाउँपालिकामा दुइदिन तालिमको आयोजना गरिएको छ ।
स्थानीय समुदायलाई सचेत, सजग र तालिम प्राप्त बनाउन सकिए विपद्बाट हुने जोखिम न्यूनिकरण गर्न सकिन्छ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै कटहरी गाँउपालिका र भैरव गण थलाहा व्यारेकले कटहरीका स्थानीयहरुलाई आइतबार देखि विपद् सचेतना एवम् खोज तथा उद्धार तालिम आयोजना गरेको छ ।
कटहरी गाँउपालिका कार्यालयमा आयोजना गरिएको संयुक्त सामुदायिक विपद् प्रतिकार्य तालिममा कटहरी गाँउपालिकाका वडाध्यक्षहरु, स्थानीय समुदाय, नगर प्रहरी, नेपाल प्रहरी, कर्मचारीहरु र सरोकारवालाहरु सहभागि भएका छन् । सो तालिम कार्यक्रमलाई सम्बोधन गर्दै कटहरी गाँउपालिकाका अध्यक्ष देवराज चौधरीले विपद् न्यूनिकरणका लागि स्थानीय समुदाय नै बढी सचेत र सजग बन्नुपर्ने धारणा राख्नुभयो । उहाँले नेपाली सेनाबाट खोज तथा उद्धार तालिम प्राप्त गरेपछि मनसुनजन्य विपद्का साथै आगलागी, डुबान र कटानबाट हुने जोखिम न्यूनिकरणमा सहयोग पुग्ने बताउनुभयो ।
दुई दिन सम्म आयोजना हुने सो तालिम उद्घाटन कार्यक्रममा बोल्दै भैरव गण थलाहाका गणपति प्रमुख सेनानी असिम श्रेष्ठले विपद्बाट हुने क्षति न्यूनिकरणका लागि स्थानीय साधन स्रोतको बढी भन्दा बढी उपयोग गर्न सकिने भएकाले नेपाली सेनाले स्थानीयलाई नै विपद् प्रतिकार्य तालिम दिईरहेको बताए । उनले तालिम लिइसके पछि स्थानियहरुले उद्धारमा सहयोग पुर्याउने बताउनुभयो ।
सो तालिममा विपद्को परिभाषा, न्यूनिकरणका उपायहरु, स्थानीय साधन स्रोतको परिचालन गर्ने तरिका बारे प्रशिक्षण दिइने बताइएको छ ।